देउवासँग लहसिँदै शेखर : युवा हावी हुने डर

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्ष र इतर पक्षको गुट तत्कालिन अवस्थामा कांग्रेस विभाजन हुनु भन्दा अगाडिदेखिकै हो ।

पार्टी शीर्षस्थ नेताहरुले नै गुटबन्दी गरेपछि कार्यकर्ता पनि कुनै न कुनै गुटको फेरो समाउन बाध्य छन् । पछिल्लो समय त झनै संस्थापन र इतर पक्ष मात्र होइन, गुट–उपगुट पनि सतहमा देखिए । पार्टीको चौधौं महाधिवेशनसम्मका गुटहरु भने अहिले फरक र भिन्न तरिकाले देखिन थालेका छन् ।

नेपाली कांग्रेसमा लामो समय कोइराला समयको बर्चश्व कायम रहँदा वर्तमान सभापति शेरबहादुर देउवाको पार्टीभित्रै छुट्टै पार्टी नै चलाएको आरोप लाग्ने गरेको थियो । देउवा सधैं नै पार्टीको इतर पक्षका नेताका रुपमा दरिन्थे ।

उनले केन्द्रदेखि जिल्ला र वडासम्म नै आफ्नो गुट कायम राखे । पार्टीमा कोइराला पक्षले आफ्नो अस्तित्व नस्वीकारेपछि देउवाले कांग्रेस पार्टी नै फुटाएर कांग्रेस (प्रजातान्त्रिक) बनाएर त्यसको नेतृत्व सम्हाले । तर देउवाको दुकान राम्रो नचलेपछि उनी पुरानै कांग्रेसमा फर्किएका थिए ।

पुनः कांग्रेसमा फर्किएपछि देउवाले पार्टीमा आफ्नो बर्चश्व अहिलेसम्म पनि कायमै राखेका छन् । देउवा पार्टी नेतृत्वमा आएपछि रामचन्द्र पौडेल इतर पक्षमा थिए । तर पार्टीको चौधौं महाधिवेशनपछि इतर पक्षको नेतृत्व शेखर कोइरालाले लिए । कांग्रेसका प्रभावशाली युवा नेताहरु पनि कोइरालाकै साथमा थिए । अहिले कांग्रेसमा परिस्थिति बदलिएको छ ।

दोस्रो पटक स्थानीय तहको निर्वाचन तथा संघ र प्रदेशको निर्वाचन हुँदै तीन क्षेत्रको उपनिर्वाचनको परिणामपछि पार्टी नयाँ ढंगले अघि बढाउनुपर्ने भन्दै युवा पंक्तिले बहस चर्काएको छ ।

पछिल्लो निर्वाचनको परिदृष्य तथा पार्टीभित्रैको युवा पंक्तिको बहसपछि इतर पक्षका नेता कोइराला देउवासँग नजिकिँदै गएका छन् ।

संस्थापन पक्षको सधैं विरोध गरिरहने कोइरालाले शनिवार कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनमा बोल्दै पार्टीभित्र गुट उपगुट हुन नहुने स्पष्ट गरे ।

कोइरालाले संस्थापन इतर पक्षको नेतृत्व गर्ने बताए पनि उनी पक्षकै नेता कार्यकर्ताले उनलाई पत्याउन छाडेका छन् ।

युवा नेताहरुले पुराना नेताहरुको विकल्प खोज्दै पार्टी भित्रैबाट देशब्यापी अभियान चलाइरहेका छन् भने पार्टी पदाधिकारीमा रहेका दुई महामन्त्रीले समेत पाका नेताहरुको आलोचना गर्दै आएका छन् ।

देशब्यापी रुपमा बुढा नेताहरुको पुरातन सोंचकै कारण आम कायकर्तामा ‘फ्रष्टेशन’ बढेको भन्दै युवा नेताहरुको आक्रोश सभापति देउवालाई झनै चित्त बुझेको छैन ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय कांग्रेस नेतृत्वको तिखो आलोचना गर्दै आएका छन् भने तेस्रो पुस्ताका युवा नेताहरुले देशब्यापी रुपमा कांग्रेस रुपान्तरण अभियान चलाइरहेका छन् ।

पार्टीका आम युवापंक्ति नयाँ पार्टीमा आकर्षित हुन थालेपछि युवा नेता कार्यकर्ताहरु पार्टी रुपान्तरण गरी नयाँ ढंगले अघि बढाउनुपर्ने पक्षमा छन् । तर युवा नेताहरु हावी हुने डर वृद्धभत्ता खाने उमेरका सिंगो कांग्रेस नेताहरुलाई छ ।

त्यसैले उनीहरुले आफ्ना गुटहरु भत्काएरै भए पनि युवा नेताहरुलाई अगाडि बढाउन खोजेको देखिन्छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top