काठमाडौं । गएको निर्वाचनमा अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेका माधव नेपाल पार्टी निर्माणपछि संकटमा फस्दै गएका छन् । पार्टी स्थापनामा साथ दिएका नेताहरु समेत एमालेमा फर्किन थालेपछि संकटमा परेका माधवले फेरि तत्कालीन नेकपा ब्यूँताउन आह्वान नै गरेका छन् । नेकपा एकीकृत समाजवादी स्थापनापछि समाजवादी मोर्चादेखि माओवादी केन्द्रसँग एकताको प्रयास गरेका माधव शक्ति क्षयीकरणले तनावमा घेरिएकै हुन त ?
संविधानको रक्षा र प्रतिगमनलाई परास्त गर्ने भन्दै माधव नेपालले नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेको झण्डै ५३ वर्षपछि माधव नेपालले आफ्नै नेतृत्वमा नेकपा एस नामको पार्टी गठन गरे । एमालेको नेतृत्व तहमा बसेका माधव अध्यक्ष केपी ओलीबाट संविधान खतरामा परेको र प्रतिगमनकारी कदम चालेको भन्दै त्यसको विरोधमा पार्टी फुटाएर नयाँ पार्टी गठन गर्न त पुगे । तर, पार्टी गठनको छोटो समयमै उनको शक्ति क्षयीकरण भने भइरहेको छ । कम क्षेत्रमा उम्मेदवार उठाएको माधवको पार्टी राष्ट्रिय पार्टी नै बन्न सकेन् ।
एमालेले लोकप्रिय समानुपातिक मत पाउदा राष्ट्रिय पार्टी बन्न थ्रेस होल्ड नै कटाउन नसकेको माधवको पार्टी यतिबेला संकटमा घेरिएको छ । केहिदिन अगाडी मात्रै माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी छाडेर केन्द्रिय नेता मुकुन्द न्यौपाने सहित चुडामणि जंगली, हरिकुमार श्रेष्ठ, छविलाल पौडेल, तोरणबहादुर केसी, माया अधिकारी लगायत नेताहरु एमालेमा फर्किए ।
यसरी धमाधम पार्टीमा नेताहरुले साथ छाड्न थालेपछि आफ्नो राजनीतिक जीवन दाउमा राखेका माधव एक्लिँदै गएका छन् । निर्वाचन परिणमाले निकै कमजोर रहेको नेपाल नेतृत्वको नेकपा एस राजनीतिक रुपमा पनि पाखा लाग्दै गएको छ । सत्ता गठबन्धन मै रहेपनि पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खासै महत्व दिएको देखिदैन् । संसदीय अंकगणित बलियो नभएकै कारण नेपाल नेतृत्वको नेकपा एस उपेक्षामा पार्ने गरेको स्वयम उनकै बुझाइ छ ।
संकटमा माधव एक्लै हेलिएका छैनन । पार्टी विघटनमा भूमिका खेलेका नेताहरु रामकुमारी झाँक्री लगायतल त निष्क्रिय जस्तै बन्न पुगेका छन् । उनीहरु पार्टीको काममा नदेखिने मात्रै होइनन, पार्टीको वचाउमा समेत उत्रिएको देखिन्न । यहि छेकोमा माधवले फेरि नेकपा ब्यूताउने प्रस्ताव राखेका छन् ।
कम्युनिष्ट पार्टीको जनमत राम्रो भएपनि छिन्नभिन्न रहेका पार्टी र नेताहरुले फेरि एकताको अभाव महसुस गर्न थालेका छन् । एकीकृत नभए आउने निर्वाचनमा के हुन्छ भन्न सकिने अवस्था छैन भन्ने बुझेका उनीहरुले पार्टी एकता वा मोर्चाबन्दी गर्न उद्दत होलान ? प्रश्न जति पेचिलो बनेको छ त्यति नै माधव नेपाललाई पनि संकटले घेर्न थालेको छ ।