काठमाडौं । सामाजिक सञ्जालमा देखिएका दुई वटा तस्विर कुरा गरौँ । जुन फरक भुगोलको भएपनि पीडामा समानता छ ।
पहिलो यो तस्विर हो काभ्रे स्थित पाँचखालको । जहाँ टमाटरले उचित मूल्य नपाएर कुहेपछि किसानले यसरी खोलामा लगेर फाल्दै छन् । टमाटरले बजार भाउ नपाएर पाँचखालका कृषकले खोलामा टमाटर फालेको भन्दा नेपालका नेता बाहेक कुन चै श्रमजवीको मन रुदैन होला ? जनउत्तरदायी सरकार हुन्थ्यो भने यस्तो अवस्थामा किसानलाई राज्यले राज्यकोषबाट सहयोग गथ्र्यो । आफू मात्र पेट भर्ने अनि ती निमुखा किसानलाई जहिल्यै मारमा पार्ने यो अवस्था कहिलेसम्म ? यो तस्विरले उव्जाएको प्रश्न हो । एकातिर किसानको टमाटर २ रुपैयाँ किलोमा बिकेको छैन । अर्कोतिर बजारमा टमाटरको मूल्य ९० रुपैयाँ छ । किसानलाई मार्ने, उपभोक्तालाई ठग्ने र बिचौलियालाई पोसने बिचौलिया राजनीति हावी भएपछि कसको के लाग्छ ।
यो अर्को तस्विर हो चितवनको । खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुकेको यो तस्विरले यो देशका चिसा नेताहरु बाहेक कसको मन पोल्दैन होला । यहाँ सुकेको मकैका बोट हैन, नेताहरुका बुद्धी, विवेक र भिजन सुकेको हो । सुकेको मकैको बोट हुँदै होइन नेतृत्वको कार्यक्षमता र इच्छाशक्ति सुकेको हो ।
बारीमा जाउँ, तरकारी उब्जाउँ । मुल्य छैन, भविष्य छैन । खाडिमा जाउँ, उमेर छैन । जागिर गरौ ठाउँमा आफ्नो मान्छे छैन । व्यापार गरौं, कर तिर्न पैसा छैन । कहाँ जाने पाइलै पिच्छे डर । कृषि अनुदान पार्टीका आसेपासे र झोलेले पाउँछन् । कृषि लोन हाकिमलाई जाड खुवाउनेले पाउँछन् । किसानबाट १० रुपैयाँमा किनेको तरकारी काठमाडौंमा १ सय १० पर्छ उपभोक्ताले खरिद गर्दा । फाईदा बिचौलियाको लागि मात्रै हो । सिजनमा मल पाईदैन, कामदार पाईदैन पाईए पनि तिरिसक्नु छैन । त्यसैले किसान सडकमा तरकारी पोखेर गाडिले किच्याँन बाध्य छन् ।
खडेरीका कारण मकैको बोट सुकेर जाँदैछ । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित छन् । सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन् । घोगा लाग्ने बेलामा मकैका बोट सुक्छ भने मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर जाँदा विचरा किसानको मन कति रुदो हो ।
मूल्य नपाएको कारण बन्दाकोपी पशुको आहारा बन्छ । बजार नपाएको कारण टमाटर खोलामा फ्याँकिन्छ । धन्न किसान कुन मनोबलले काम गर्छन । भारतीय तरकारी, मासु र अण्डाले बजार पाउँदा नेपाली कृषकका उत्पादित बस्तुले बजार नपाउनु कति निर्लज्जताको विषय हो ? यतातिर सरकारको कुनै पनि ध्यान छैन । करोडौं लगानी गरेर कृषि पेशामा लागेका कृषकहरूलाई प्रोत्साहन गर्नु साटो सधैं दुख मात्र दिइरहन्छन् अपराधि शासकहरु ।
भारतले दुई दिन नेपालमै उत्पादित उत्पादनभन्दा सस्तोमा त्यहि सामान दिन्छ । अनि नेपाली कृषकलाई हतोत्साहित बनाउँछ । कृषक आफ्नो उत्पादन बन्द गरेर त्यै सामान किन्दै बेच्दै गर्छन । नेपाली बजारमा भारतीय व्यवसाय चम्कन्छ । अनि खाडी नभासिएर के गर्छत युवा ?
तर, फेरि भन्छु अब किसानले तरकारी सडकमा खन्याउँने होइन । तरकारी जसरी भ्रष्टाचारीलाई राजमार्गमा खन्याएर गाडिले किच्नु पर्छ । किच्ने भौतिक मात्र हुँदैन । सही किचाई अहिंसात्मक हुन्छ । त्यो वाणिक हुन्छ । आफू वा जो कसैप्रतिको भौतिक आक्रमण वा किचाइ आफैँ सिद्धिने मेलो हो । किसानहरु बोल्ने हो । नसुने, कराउने हो । चिच्याउने हो । आन्दोलन गर्ने हो । प्रश्न गर्ने हो । धर्ना दिने हो । अनसन बस्ने हो । तर, आफू कुनै पनि हालतमा मर्ने वा आफ्नो उत्पादन नष्ट गर्ने चै होइन । नेतृत्वको अपराधको तथ्यपूर्ण तरिकाले बिस्कुन फिँजाइदिने हो । किसानले तरकारी, मजदूरले ज्यावल, पसलेले सामान, विद्यार्थीले झोला, शिक्षकले मार्कर फालेर आन्दोलन गरे पनि नेताले कुर्सी फालेर साथ दिँदैन । त्यसैले यिनलाई आवाजले लतारेर सडकमा ल्याउँन जरुरी छ । सिंहदवारको कानको जाली फुट्ने गरि चिच्याउन जरुरी छ ।
समस्या राउटे, चेपाङ, कुसुण्डा बस्तीमा छैन् । समस्या त समस्यालाई सधैं समस्या देखेर हात हाल्न हिम्मत नगर्ने सोचमा छ । गरिबीको अन्त्य गर्न गरिबलाई बाख्रो त दिन्छौं, तर जाँडको सितनका लागि बाख्रो नै सिध्याउने त्यो गरिबको गरिबी कसरी अन्त्य होला त्यसको अर्थशास्त्रीय जवाफ कसैसंग छैन् । चुलोले नचिनेको राजनीति र खोटो मोहोर एउटै रहेछ भन्ने तथ्य बारम्बार प्रमाणित हुँदै आएको छ । खुसी कसैलाई मन पर्न छाडेको छ । आँसुमा खेल्न रुचाउने परपीडकहरु गल्लीगल्लीमा बढेका छन् । अरुको कुरा काट्न आफ्नो गोजी रित्याएर भट्टीलाई रोजगार दिनेहरुको संख्या अझ बाक्लिदो छ । अपराधको प्रकृति समाजमै विभत्स देखा पर्न थालेको छ । मर्ने त मरी नै गए, बाँच्ने पनि बाँचेर मर्ने खालको अवस्था छ ।