काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) को अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रकै हुर्मत लिनु भएको दाबी गर्दै माधवले ज्ञानबहादुरको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका हुन् । प्रतिनिधि सभाको आईतबारको बैठकमा शाहीले बोलेलगत्तै सांसद सापकोटाले बोले । यसक्रममा उनले भने, ‘उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरेर आफ्नो कुरा राख्नुभयो । प्रधानमन्त्रीलाई उहाँले एकोहोर गैरराजनीतिक तरिकाका साथ लखेटिरहनुभएको छ । प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो ।’ सांसद शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध युद्ध अपराध जस्तो गम्भिर मुद्दा परेपछि पदमा बस्ने कुनै नैतिक अधिकार नभएको बताएपछि माओवादी सांसदले आपत्ति जनाएका हुन् ।
अराजक भन्दै ज्ञानेन्द्रलाई दाहालको चेतावनी
नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन् । आईतवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद बैठकमा अराजकता देखाएको समेत आरोप लगाए । यो संसदले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह समेत गरे । सांसद दाहालले शाहीले प्रतिनिधि सभा बैठकको अन्तिममा नियमापत्ति गरेर आफ्नो कुरा राखेकोप्रति असन्तुष्टि पनि व्यक्त गरे । नियमापत्तिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै उनले संसदीय नियमावलिभन्दा बहिर गएर बोलेको उल्लेख गरे । सभामुखले समेत नियमावलीभन्दा बाहिर गएर शाहीलाई बोल्न दिएको उनको भनाई छ । उनले संसद बैठक सञ्चालन गर्न सभामुखले कमजोरी गरिरहेको भन्दै आफ्नो कमजोरी सच्याउन आग्रह समेत गरे ।
ज्ञानेन्द्रको भाषणले हंगामा
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथि छलफल सकिएलगत्तै सभामुखसँग समय लिएर शाहीले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको भन्दै अदालत जानुअघि प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताए । उनले व्यक्तिगत रुपमा प्रचण्ड युद्ध अपराधमा दोषी भए पनि देश हुन नसक्ने जिकिर गरे । उनले भने, प्रधानमन्त्रीको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ । सर्वोच्चले ३० गते हाजिर हुनु भनेर पत्र काटिसकेको छ । म सोध्न चाहन्छु ३० गते प्रधानमन्त्री अदालत जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल भएर जानुहुन्छ ? युद्ध अपराधजस्तो कुरामा अदालतमा जानेजस्तो कुरामा देशले अपराध गरेको होइन, व्यक्तिले गरेको हो । प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ । नैतिकताको आधारमा पनि पदमा बस्न मिल्दैन ।’
नीति र बजेटबीच छैन मेल
एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम र बजेटबीच मेल नखाएको आरोप लगाएका छन् । उनले अर्थमन्त्रीले अर्थतन्त्रको डँढेलो छोप्न खोजेको टिप्पणी समेत गरे । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमाथि छलफलमा भाग लिँदै पौडेलले हिउँदमा ३० र वर्षामा ५० युनिटसम्म बिद्युत निशुल्क गर्ने नीति तथा कार्यक्रमबाट बजेट पछि हटेको बताए । पौडेलले समृद्ध नेपाल, सुखी नेपाली भन्ने शब्द प्रयोग गर्न समेत अर्थमन्त्री डराएको आरोप लगाए । सरकारको सिद्धान्त र प्राथमकितासँग बजेटको सम्बन्ध हुँदैन भने नीति तथा कार्यक्रम ल्याउनुको औचित्य नरहने बताए । पौडेलले केपी ओली नेतृत्वको सरकारका पालामा लय लिएको अर्थतन्त्रलाई लगातार कमजोर बनाउने काम भएको भन्दै अर्थतन्त्रका समस्या चिन्नसमेत बजेट असफल भएको बताए ।