
काठमाडौं । नेपाली पुँजी बजारमा सधैँजसो “नयाँ स्टक एक्सचेञ्ज”थप्ने विषयले चर्चा पाउने गरेको छ । एकातर्फ यसलाई सकारात्मक मानिएको छ, भने अर्कातर्फ नयाँ एक्सचेन्ज सञ्चालनका आवश्यक शर्त, पुँजी संरचना, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता लगायतका व्यवस्थाहरुले विवादमा तानिने गरेको छ ।
त्यस्तै, निजी क्षेत्रको स्वार्थमा नयाँ एक्सचेन्ज ल्याउन लागिएको भन्ने कोणबाट पनि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । वर्षौदेखि यस विषयमा किन विवादको गाँठो सुल्झिन सकेको छैन त ?
संघीय संसद्को अर्थ समितिले स्टक एक्सचेन्ज र धितोपत्र ब्रोकरहरूको नयाँ लाइसेन्सको सम्पूर्ण प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।
अर्थ मन्त्रालयमार्फत लाइसेन्स वितरण प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै उक्त प्रक्रिया रोक्न समितिले निर्देशन दिएको हो ।
यसअघि गत वैशाख २९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी लगानीको स्टक एक्सचेन्जलाई लाइसेन्स वितरण गर्दा आर्थिक चलखेल हुन सक्ने र त्यसले नकारात्मक प्रभाव पार्ने निष्कर्षसहित नयाँ लाइसेन्स वितरणको प्रक्रिया रोक्न निर्देशन दिएका थिए ।
नेपालमा वास्तविक अर्थतन्त्रको आकारबारे विस्तिृत अध्ययन अनुसन्धान नगरिकन नै लाइसेन्स वितरण गर्ने पारिपाटिले विभिन्न स्वार्थ समुहहरु हाबी हुने, राजनीतिक र गैर–राजनीतिक व्यक्तिबीच प्रभाव हुने, नीतिगत भ्रष्टाचारलाई प्रश्रय दिने जस्ता कारण पुँजी बजारमा झनै अन्यौलता थपिने देखिन्छ ।
यस्तै, अहिले केही व्यक्तिहरुले विभिन्न चलखेल गरेर साना लगानीकर्ताको हित विपरीत काम गर्नका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी भएको भनेर पनि टिकाटिप्पणी भइरहेको छ ।
लाइसेन्स वितरण प्रक्रियालाई लिएर ठुलो आर्थिक चलखेल भएको तथा अरबौ राजस्व तिर्ने नेपाल स्टक एक्सचेन्ज माथि प्रहार भएको भन्ने विषयले संसदमा समेत प्राथमिकता पाउने गरेको छ ।
अहिले नेपालको पुँजीबजारमा कारोबार गर्नेको संख्या निकै कम छ । यसले नयाँ एक्सचेन्ज तत्कालका लागि आावश्यक नभएको बहस हुने गरेको छ । तर, पुँजी बजारलाई प्रतिस्पर्धी बनाउन, कारोबारलाई पारदर्शी र चुस्त बनाउन, वर्षौदेखि केही निश्चित व्यवक्तिहरुको दायरामा रहेको पुँजी बजारलाई आम जनमानसमा फैलाउन, र नेप्सेलाई समयसापेक्ष आधुनिकीकरण गर्नका लागि नयाँ एक्सचेन्ज थप्न आवस्यक छ ।
यसले केवल पुँजीबजार वृद्धिका लागि मात्र नभई लगानीकर्ताको छनोटको अवसर निर्माणका लागि समेत सहयोग पुर्याउने नेपाल स्टक एक्सचेन्ज(नेप्से)का पुर्व कार्यकारी अधिकृत चन्द्र सिंह साउदको भनाई छ ।
पूँजी बजारलाई पारदर्शी, प्रतिस्पर्धी र चुस्त बनाई लगानीकर्ताको हित सुनिश्चित गर्न सरकारले नयाँ स्टक एक्सचेन्ज थपेर व्यवस्थित गर्न सके मुलुकको समग्र अर्थतन्त्र सकारात्मक हुने विज्ञहरु बताउँछन् ।