सहकारीका बचतकर्ताको २० करोड बढी रकम ठगी, ५ सय रोपनीमा अकबरे खेती गर्दै विनोद चौधरी

काठमाडौं ।  महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै दुई हजार ४९६ जना बचतकर्ताले २० करोड ७८ लाख २४ हजार रकम फिर्ता माग गर्दै निवदेन दिएका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निवदेनकर्ताको संयुक्त जाहेरी बनाएर मुद्दा दर्ता गर्ने तयारीमा रहेको जनाएको छ । अहिले शिवशिखर सहकारी संस्था बन्द छ ।

सहकारीका कर्मचारीले घरमै आएर आग्रह गर्दा बचत जम्मा गर्ने गरेको बचतकर्ताहरुको भनाई छ । बचतकर्ताले रकम फिर्ता र सहकारी सञ्चालकहरूलाई कारबाहीको माग गरेका छन् ।

३० भन्दा बढी सहकारी संस्थामा बचत गरेको रकम लामो समयदेखि फिर्ता नपाएका पीडितहरूले जेठ २० गते देखि माइतीघरमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

पोखरा महानगरपालिकाको खाजा खर्च दुई करोड ३९ लाख

पोखरा महानगरपालिकामा खाजा, खाना लगायतका शिर्षकमा अस्वभाविक खर्च देखिएपछि महानगरपालिकामा धेरै आर्थिक बेथितिहरू रहेको आरोप लाग्न तालेको छ ।

महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार महानगरले खाना, खाजा शीर्षकमा मात्रै दुई करोड ३९ लाख खर्च एक वर्षमा गरेको छ ।

यसअघि अघिल्लो आर्थिक वर्ष ०७७\७८ मा समेत पोखराले खाना–खाजामा दुई करोड ४० लाख खर्च गरेको थियो । त्यसैगरि, आर्थिक वर्ष ०७८÷७९ मा महानगरले ७० करोड ६५ लाख बेरुजु अघिल्लो आर्थिक वर्षमा थप भएको छ ।

थप भएकोमध्ये असुल गर्नुपर्ने २१ करोड ४१ लाख, प्रमाण कागजात पेस गर्नुपर्ने १७ करोड ४३ लाख, नियमित गर्नुपर्ने २४ करोड ९० लाख र पेस्की ६ करोड ८९ लाख छ ।

गत आर्थिक वर्ष ०७७\७८ सम्म २ अर्ब २९ करोड ७३ लाख बेरुजु रहेकोमा सम्परीक्षणबाट २१ करोड ७ लाख फर्स्यौट भएर हालसम्मको बेरुजु २ अर्ब ७९ करोड ३१ लाख पुगेको छ ।

असारमा पनि घट्दैन निक्षपको ब्याज

नेपाल बैंकर्स संघले असारमा पनि निक्षेपको ब्याज स्थिर राख्ने निर्णय गरेको छ । संघको मंगलबार बिहान बसेको कार्य समिति बैठकले दुई महिनादेखिकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो ।

अहिले मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत छ । बचत र कल निक्षेपमा ब्याजदर परिवर्तन हुनसाथ त्यसको लागत पनि घट्न जान्छ ।

तर, मुद्दती निक्षेपमा भने जति अवधिको लागि लिएको हो, उक्त अवधि पुरा नहुँदासम्म निक्षेप राखेकै ब्याजदर कायम रहने व्यवस्था छ ।

मुद्दती निक्षेपका हिस्सा कुल निक्षेपमा ६० प्रतिशत माथि भएको र यसको लागत पनि उच्च हुँदा निक्षेपको बयाजदर घटेपनि सोही अनुरूप निक्षेप लागत सँगै बेसरेट घटेर कर्जाको ब्याजदर घट्न सकेको छैन ।

एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा बीमा प्राधिकरण आबद्ध

नेपाल बीमा प्राधिकरण नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को नेसनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानीमध्ये तलव, भेन्डर भुक्तानी, लगानीलगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताबीच सोझै गर्न सकिने एनसीएचएलले जनाएको छ ।

बीमा क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल भुक्तानीको माध्यमको प्रयोगलाई थप प्रोत्साहन गर्न बीमा प्राधिकरण र एनसीएचएलसँगको यस सहकार्यले टेवा पुग्ने विश्वास एनसीएचएलको छ ।

यसअघि प्राधिकरणले प्रदान गर्ने बीमा एजेन्ट तथा सर्भेयरको लाइसेन्स नवीकरणको अनलाइन भुक्तानी एनसीएचएलको कनेक्ट आइपीएस प्रणालीमार्फत हुने व्यवस्था गरेको थियो ।

आगामी दिनहरुमा प्राधिकरणले अन्य सेवाहरु पनि क्रमशः डिजिटाइज गर्दै लैजाने लक्ष्य लिएको छ ।

५ सय रोपनीमा अकबरे खेती गर्दै विनोद चौधरी

व्यवसायी एवं नेपाली कांगे्रसका सांसद विनोद चौधरीले अकबरे खुर्सानीको खेती शुरु गरेका छन् । चौधरीको सिजी एग्रोले पाल्पामा ५ सय रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती शुरु गरेको छ ।

यस अघि सिजी एग्रोले युरिया मलको कारोबार गर्दै आएको थियो । चाउचाउ उत्पादनमा नेपालको सबैभन्दा ठूलो चौधरी ग्रूपले पिरो चाउचाउमा चाहिने खुर्सानी आफैं उत्पादन गर्न लागेको चौधरी ग्रूपले जनाएको छ । भने, आफूलाई धेरै भएको बजारमा बिक्री गर्ने चौधरी ग्रुपको योजना छ ।

पछिल्ला वर्षहरुमा पिरो चाउचाउको बजार ह्वात्तै बढेकोले चौधरी ग्रुपले पिरो चाउचाउ उत्पादनलाई प्राथमिकतामा राखेको छ । चौधरी ग्रुपको वाइवाइ चाउचाउ नेपालमा मात्रै नभएर विश्वभर लोकप्रिय छ ।

काभ्रेमा पहिलो महिला उद्यमी औधोगिक क्षेत्र स्थापना

सरकारले काभ्रेको पाँचखालमा पहिलो पटक महिला उद्यमी पार्क र हरित अर्थतन्त्रको लागि औधोगिक क्षेत्र स्थापना गर्ने भएको छ ।

सरकारले आगामी आर्थिक बर्षको बजेटमा महिला उद्यमी हरित औधोगिक पार्क स्थापना गर्ने कार्यक्रम घोषणा गरेपछि सो क्षेत्रमा लघु, साना, मझौलाका साथै महिला उद्यमीको लागि उपयुक्त वातावरण सिर्जना हुने दक्षिण एशियाली महिला विकास मंञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले बताएकी छिन् ।

पाँचखाल नगरपालिकाको सहकार्यमा पाँचखालको होक्सेमा निर्माण हुन लागेको सो महिला उद्यमी हरित पार्कबाट त्यस क्षेत्रका स्थानीय उत्पादन, तरकारी, फलफुल, डेरी, जडीवुटी, पशुपालन, लगायतका उत्पादनहरुले राम्रो बजार प्राप्त गर्ने बिश्वास गरिएको छ ।

यस किसीमको औधोगिक पार्क निर्माणले यस क्षेत्रका जनताको विकास र समृद्धिमा सहयोग पुग्ने पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बताए ।

सांसद याक्किला शेर्पाले नेपालमा महिलो पटक निर्माण हुन लागेको पार्कबाट महिला उद्यमीको विकास र स्थानीय क्षेत्रको अर्थतन्त्रको विकास .सहयोग पुग्ने बिश्वास गरेकी छिन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top