प्रचण्डमा नयाँ नेकपा र समाजवादी मोर्चाको लोभ किन ?

काठमाडौँ । संसदीय व्यवस्था स्वीकार गर्ने र संसदीय व्यवस्थामाथि प्रश्न उठाउदै आएका कम्युनिष्ट पार्टीहरुबीच समाजवादी मोर्चा बनाउने प्रयास तीव बनेको छ । नेत्रविक्रम चन्द विप्लवदेखि प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव सम्मिलित समाजवादी मोर्चाको तयारी अन्तिम चरणमा पुगेको छ । अझं प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले त नयाँ नेकपा बनाउने दिशामा उद्दत रहेको समेत बताएका छन् । यस्तो अवस्थामा के समाजवादी मोर्चाले राजनीतिक निकासको बाटो पहिल्याउला त ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएको चुनावबाट भएको शक्ति क्षयीकरण र निर्वाचन जित्न विभिन्न जिल्ला चहार्नुपर्ने अवस्थाबाट त्रसित बनेका छन् । अभावमा भएको एमालेसँगको एकता टिक्न नसकेपछि शक्ति संकट व्यहोर्दै आएका प्रचण्डले माओवादी केन्द्रलाई यो वा त्यो ठाउँमा पु¥याएरै भएपनि निर्णायक शक्तिको रुपमा स्थापित गराइरहेका छन् । तर, पछिल्लो समय नयाँ दलहरुको आकस्मिक उदय, स्वतन्त्र उम्मेदवारहरुको बिगबिगी र कांग्रेस–एमालेको राजनीतिक शक्तिका कारण पनि प्रचण्डले राजनीतिक मुभ खोजिरहेका छन् ।

शान्ति प्रक्रियापछि ठूलो शक्ति आर्जन गरेका प्रचण्ड विभाजन, विवाद, टुटफुट र युद्वका विभिन्न पक्षलाई व्यवस्थापन गर्न नसक्दा समस्या निम्तिएको र माओवादी सानो शक्तिमा खुम्चिएकोमा पनि जानकार नै देखिन्छन् । यसकारण पनि प्रचण्डले पछिल्लो समय पार्टी एकता हुन नसक्ने अवस्थामा मोर्चा बनाएरै भएपनि अघि बढ्ने तयारीमा जुटेका छन् । यहि कामलाई निरन्तरता दिन प्रचण्डले समाजवादी मोर्चा केहिदिनमै घोषणा हुने बताएका छन् । नयाँ नेकपा बनाउने प्रयास थालिएको दाबी गरेका प्रचण्डले माधव नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र उपेन्द्र यादवलाई तत्काल समेट्न खोजेका छन् ।

संसदमा एक्लो महशुस हुने गरेको बताउने प्रचण्ड सत्ताको घिसीपिटीमा देखिन्छन् । तर, भ्रष्टाचार नियन्त्रण लगाएत काममा अडिग रहने संकल्प भने सहज देखिन्न । यसलाई मलजल गर्न पनि प्रचण्ड समाजवादी मोर्चाको तयारीमा देखिन्छन् । अझं रोचक विषय त के भने संसदीय व्यवस्था नै मान्दैनौं भनिरहेका विप्लव पनि यो मोर्चामा सहभागी हुन सहमत देखिएका छन् । एकीकृत जनक्रान्तिको कार्यदिशासहित भूमिगत जीवन नै विताएका विप्लव संसदीय व्यवस्था मान्न राजी भएका हुन ? प्रश्न भने उब्जिएको छ । यस्तै, माधव नेपाल र उपेन्द्र यादव पनि संसदीय संकटमा छन् । माधव नेपालले त पार्टीलाई राष्ट्रिय पार्टी नै बनाउन सकेनन् । उनले पुरानो नेकपा ब्यूँताउने प्रस्ताव नै राखेका छन् । यसरी हेर्दा समस्यामा फसेका र राजनीतिक संकटमा रहेकाहरुको मोर्चा दीर्घकालीन होला भन्ने प्रश्न भने उब्जिएको छ ।

सत्ता सहकार्यपछि एमालेसँग पार्टी एकताको प्रस्ताव राखेका प्रचण्डलाई एमाले अध्यक्ष केपी ओलीले खासै चासो नदिएपछि उनले गठबन्धन नै फेरिदिएका छन् । प्रचण्ड राजनीतिक रुपमा रणनीतिक मुभ चलिरहेका छन् । समाजवादी मोर्चा पनि यसैको एक पाटो बन्ने संकेत देखा परेको छ । समाजवादी मोर्चा पार्टी एकताको तहसम्म नपुगेपनि यो प्लेटफर्म राजनीतिक गतिविधिका लागि उपर्युक्त हुने उनको विश्वास छ । यसरी नै अन्य दलका नेताहरु पनि आशावादी त देखिन्छन् नै । तर, प्रचण्डले कस्तो रणनीति अख्तियार गर्छन् भन्ने विषय मोर्चाका लागि प्रमुख बन्नेछ । अझं संसदीय व्यवस्था र अहिलेको व्यवस्था नै दलाल रहेको खरो टिप्पणी गर्ने विप्लवलाई उनले कसरी मिलाउलान् ? वा संसदीय चुनावमा सहभागी गराउन सक्लान् ? त्यो थप रोचक र मोर्चाको प्रमुख चुनौति बन्नेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top