काठमाडौँ । पूर्वमहान्यायाधिवक्ताहरु खम्बहादुर खाती र रमणकुमार श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतलाई हचुवाको भरमा मुद्दा लगाइएको जिकिर गरेका छन् । सरकारी वकिलहरुमाथि आक्रोशित उनीहरुले कसुर ठहरिने कुनै प्रमाणविनै कसैले बयानमा पोलेको आधारमा अदालतमा मुद्दा थोपरेको तर्क गरे । पूर्वगृहमन्त्री खाणको तर्फबाट बहस गर्दै पूर्वमहान्यायाधिवक्ता खातीले ठगी गरेको भनी उजुरी दिने कुनै पनि व्यक्तिले किटानी जाहेरी नदिएकै अवस्थामा खाणमाथि मुद्दा चलाइएको जिकिर गरे । खानले कसलाई ठग्यो, के कति रकम लियो भन्ने कुनै प्रमाणविनै ठगी मुद्दा हालेको उनको भनाइ थियो । अर्का पूर्वन्यायाधिवक्ता श्रेष्ठले एक व्यक्तिको बयानको आधारमा एकै व्यक्तिमाथि दर्जनौं मुद्दामा कसुर पुष्टि नहुने दावी गरे । पूर्वन्यायाधिवक्ताद्वय खाती र श्रेष्ठको बहससँगै पूर्वगृहमन्त्री खाणको तर्फबाट बहस सकिएको छ ।
भित्र बहस, बाहिर तमासा
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दाको थुनछेक बहस भइरहँदा बाहिर विरोध उत्रिएका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेलसमेत भएको थियो । बुधबार पूर्वमहान्यायाधिवक्ताहरु खम्बहादुर खाती र रमणकुमार श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका पक्षमा वकाल गरिरहँदा उनीहरुले बाहिर प्रदर्शन चर्काएका थिए । यो प्रकरणमा एमालेका नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँणसहित १८ जना पक्राउ परेका छन् । १३ प्रतिवादीको पक्षमा हालसम्म दर्जनौँ वकिलहरुले बहस सकिसकेका छन् ।
उखु किसानकालागि उपसमिति
उखुकिसानका समस्या समाधान गर्न कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन भएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधवार बसेको बैठकले पाँच सदस्यीय चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन गरेको हो । समिति सचिव रामकुमार पौडेलले उखु किसान र उद्योगबीचका समस्या अध्ययन गरी समाधान गर्नको लागि समिति सदस्य कृष्णकुमार श्रेष्ठ संयोजक रहने गरी पाँच सदस्यीय उपसमिति गठन भएको जानकारी दिए । उपसमिति सदस्यहरुमा कान्तिका सेजुवाल,गणेश पराजुली,रामशंकर यादव र सूर्यमान दोङ तामाङ रहेका छन् । समितिलाई अध्ययन प्रतिवेदनको लागि एक महिनाको समय दिइएको छ । समितिले उद्योगी व्यवसायीहरु सहितको छलफल गरेर अध्ययन प्रतिवेदन समिति बैठकमा पेस गर्ने कार्यदेश दिइएको छ ।
गोरखा पुगेर बाबुरामले गरे गुनासो
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छन् । उनले द्वन्द्वकालीन मुद्दा बल्झाएर अदालतमा पु¥याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताए । गोरखामा आयोजित कार्यक्रममा उनले यस्तो बताए । उनले भने, “यो घटना एक प्रकारको पुरानो घाउहरुलाई कोट्याई रहेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल हो । त्यसैका लागि यसमा केही पात्रहरुलाई उभ्याइएको छ ।” उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगमार्फत द्वन्द्वकालीन मुद्दा छिटोभन्दा छिटो हल गर्ने विषय रहेको बताए । उनले सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रमले उल्लेख उत्साह भने ल्याउन नसकेको पनि टिप्पणी गरेका छन् ।
साउदीमा नेपालले पनि कुरान बाचन गर्ने
साउदी अरवको मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने भएको छ । बुधबार मुस्लिम आयोगले सञ्चारकर्मीलाई ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’ मा नेपाल सहभागी हुनेबारे जानकारी दिएको हो । नेपाल सरकार परराष्ट्र मन्त्रालयले आयोगलाई पठाएको पत्रमा सो कुरा उल्लेख गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकार िदिए । परराष्ट्र मन्त्रालयले सो प्रतियोगितामा सहभागी हुने एक जना छनौटको कामको संयोजन गर्ने जिम्मेवारी पनि सोही आयोगलाई दिएको छ । आयोगले नेपाल सरकारमा रजिष्ट्रर भएका मदरसाबाट आवेदन आह्वान गरेको थियो । त्यसमा १२ जनाले आवेदन गरेको र उनीहरुमध्येबाट उत्कृष्ट एक जनाको छनौट गरी सो प्रतियोगितामा सहभागी गराउन लागिएको हो । प्रतियोगिता अगष्ट २५ देखि सेप्टेम्बर ६ अर्थात् नेपाली समय आगामी भदौं ८ गतेदेखि २० गतेसम्म हुनेछ । प्रतियोगितामा विश्वका विभिन्न देशहरुबाट एक÷एक जना प्रतियोगी सहभागी हुनेछन ।