
काठमाडौँ । घोराही सिमेन्टले बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ खुला गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गरेको छ । घोराहीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको छ । जस अनुसार प्रतिकित्ता ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ सर्वासाधारणका लागि खुला भएको छ । तर आईपीओ निष्कासनमा घोराहीले अपत्यारिलो वित्तीय विवरण तयार पारेर लगानीकर्तालाई फसाउन खोजेको पाइएको छ ।
बिहीबारदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन पश्चात सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो । विहिवारदेखि खुला गरिएको आइपिओमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदी उक्त समयमा आइपीओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला रहनेछ । घोराहीको आइपिओ स्थानीयवासीका लागि प्रतिकित्ता ४ सय र अन्य सर्वसाधारणका लागि प्रतिकित्ता ४ सय ३० रुपैयाँमा आईपीओ जारी गरिएको छ । तर कम्पनीको आधारभूत वित्तीय परिसूचकले यो मूल्य समर्थन गर्दैन ।
घोराही सिमेन्टभन्दा राम्रो परिसूचक भएका कम्पनीले पनि प्राथमिक बजारमा फेस भ्यालु अर्थात् प्रतिकित्ता सय रुपैयाँमा आइपिओ जारी गर्ने गरेका छन् । क्लिंकर र सिमेन्ट उत्पादन गर्ने घोराहीले कमजोर देखिएको कम्पनीको लगानी उठाउन सर्वसाधारणलाई झूटो र अपत्यारिलो विवरण राखेर आफू सशक्त, नाफामूलक, वास्तविकभन्दा दोब्बर नेटवर्क भएको कम्पनी प्रमाणित गर्न खोजेको देखिन्छ । केयर नेपालले घोराही सिमेन्टलाई ‘केयर एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । केयर नेपालले सन् २०२२ जुलाई २२ गते यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२३ जुलाई १३ गतेसम्म यथावत रहनेछ ।
घोराही सिमेन्टले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट समेत कम्पनीमा प्रतिनिधित्व गराउने उद्देश्यले आइपीओ जारी गर्न लागिएको बताए पनि आइपीओ जारी गर्नुको मुख्य उद्देश्य विभिन्न बैंकहरुसँग लिएको ऋण तिर्नु नै रहेको देखिन्छ । सर्वसाधारणबाट उठाएको सम्पूर्ण पुँजी बैंकहरुको ऋण तिर्नमै खर्च हुने कम्पनीले विवरणपत्रमा उल्लेख गरेको छ । कम्पनीले व्यवसाय विस्तार वा नयाँ योजनाका लागि एक रुपैयाँ पनि छुट्याएको छैन । घोराहीले विभिन्न १३ वटा वाणिज्य बैंकलाई कुल ३ अर्ब ४१ करोड ७९ लाख ८९ हजार रुपैयाँ ऋण तिर्ने बताएको छ । तर यति गरिसक्दा पनि कम्पनीको ऋण आधा पनि नघट्ने देखिएको छ ।
विवरणपत्र अनुसार २०७९ असार मसान्तसम्म कम्पनीले विभिन्न १४ वटा वाणिज्य बैंकहरुबाट विभिन्न शीर्षकमा कुल १२ अर्ब ३१ करोड १४ लाख ६४ हजार रुपैयाँ कर्जा लिएको छ । भुटो र अपत्यारिलो विवरण देखाएर आइपिओ जारी गरेको आरोप खेपिरहेको घोराही सिमेन्टको विगत पनि सन्तोषजनक छैन । विभिन्न विवादमा यो कम्पनी फस्दै आएको छ ।
दाङको घोराही उपमहानगरपालिका–४ मा सञ्चालित घोराही सिमेन्ट उद्योग सन् २००७ मा स्थापना भएको हो । उद्योगमा संघई परिवारको त्रिवेणी समूह र अग्रवाल परिवारको विशाल समूहको मुख्य लगानी छ । उद्योग र स्थानीयवासीसँग वातावरण प्रदूषण बारेको विवाद चर्को अवस्थामा छ । बिजुलीको बक्यौता नतिरेको, खानीबाट चुनढुंगा चोरेको, नापतौल र गुणस्तरमा कैफियत देखिएको घोराहीका व्यावसायिक विवाद हुन् । प्रदूषण बढाएर मानव स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै स्थानीयले उद्योग स्थानान्तरणको माग गरेका छन् ।