आज समाजवादी मोर्चा घोषणा हुँदै, साझा प्राथमिकतासहित १५ बुँदे  प्रतिबद्धता

आज समाजवादी मोर्चा घोषणा हुँदै, साझा प्राथमिकतासहित १५ बुँदे प्रतिबद्धता

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चा आज घोषणा हुँदैछ । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपालाई समेटेर समाजवादी मोर्चा घोषणा गर्न लागिएको हो ।

यसका लागि दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा घोषणा सभा आयोजना गरिएको छ । प्रधानमन्त्री निवास, बालुबाटारमा आइबार बसेको बैठकले मोर्चा घोषणाको निर्णय गरेको थियो ।

आइतबार बसेको चार दलको बैठकले समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको छ ।

दलहरुले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरुप हुने सहमति गरेका बताइएको छ ।
यसैगरी, मोर्चामा सहभागी हुने सदस्य दलका अध्यक्ष सहितको एउटा संयोजन समिति हुने र त्यसले आवश्यकताअनुसार उपसमितिहरु बनाएर अन्य दलहरुलाई पनि सहभागी गराउने निर्णय भएको छ ।

तय भएको १५ बुँदे प्रतिबद्धतामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने, नेपालमा सदियौँदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेदहरू अन्त्य गर्ने रहेको छ ।

यसैगरी, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपले बहिष्करणमा परेका वा पारिएका मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारू, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्नवर्ग लगायतका सीमान्तकृत समुदायहरुको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने नीति मोर्चाको रहेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *