
काठमाडौं । देशको शासन व्यवस्था नै दलाल भएको भन्दै एकीकृत जनक्रान्तिको आधारशिला तयार पार्न उद्दत नेत्रविक्रम चन्द ‘विप्लव’ अन्ततः संविधानको मुलधारमै फर्किएका छन् ।
गएको स्थानीय तह निर्वाचनमा निर्वाचनको उपयोग गर्ने रणनीति बनाएपछि एउटा समूह विप्लवबाट अलग भएको थियो । संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएका विप्लव प्रचण्डको ‘समाजवादी मोर्चा’ हुँदै संविधान कार्यान्वयनको पाटोमा छिरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले जनयुद्ध र क्रान्तिलाई धोका दिएको भन्दै नेत्रविक्रम चन्द विप्लव मोहन वैद्य किरणसँगै तत्कालिन नेकपा ड्यास माओवादीमा समाहित भएका थिए । तर वैद्य पनि क्रान्तिको दिशामा अघि नबढेको भन्दै पार्टी विभाजनको दुई वर्ष नहुँदै विप्लवले वैद्यसँग अलग भई नेकपा माओवादी नै बनाए ।
वैद्यबाट अलग भई एकीकृत जनक्रान्तिको लाइन अघि सारेका उनले त्यसपछि पुनः माओवादी हटाएर नेकपा मात्रै बनाए । भ्रष्टाचारविरुद्धको जनकारबाहीको कार्यक्रमअघि सार्दै हिंसात्मक आन्दोलन थालेपछि विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धको क्रममा केहि सुरक्षाकर्मी, सर्वसाधारण, शिक्षक र नेता कार्यकर्ताले ज्यान नै गुमाए । सर्लाहीका कुमार पौडेलदेखि एनसेलका सुरक्षा गार्डले ज्यान गुमाएको धेरै भएको छैन् । तर, विप्लवले अन्ततः यहि संविधानको बाटोबाट राजनीतिक यात्रालाई अघि बढाउने भएका छन् । त्यसैका लागि विप्लव माओवादी केन्द्र, नेकपा एस, जसपा लगायतका दलहरुसँगको एउटै मोर्चामा समाहित हुने भएका छन् ।
आफूलाई हार्डलाइनर क्रान्तिकारी नेताको रुपमा चित्रण गर्ने गरेका विप्लव समाजवादी मोर्चाले तयार गरेको १५ बुँदे प्रतिबद्धतामा हस्ताक्षर गर्ने भएका छन् ।
मोर्चाको प्रतिवद्धतापत्रमा लोकतन्त्रको सुदृढीकरणदेखि संघीयताको कार्यान्वयन हुँदै जिम्मेवार राज्य निर्माण गर्ने उल्लेख छ ।
राजनीतिको उद्देश्य समानता कायम गर्नु नै भएपनि संसदीय व्यवस्थामाथि नै विश्वास गर्दिन भन्ने नेताले स्पष्ट कारण नै नदेखाएर जनयुद्धलाई धोकामा बदल्ने नेताको आरोप लगाइएकै प्रचण्डसँगको सहकार्य किन ? यो आम प्रश्न बनेको छ ।
एकीकृत जनक्रान्तिको नारा दिएका विप्लवले सत्ता सहकार्य गर्न खोजेको कतिपयको तर्क छ ।
प्रचण्डले राजकीय सत्ता सम्हाल्दा विप्लवले पार्टी सत्ताका लागि अभ्यास गर्ने समेत जनाइन्छ । तर, प्रचण्डले जनयुद्धमाथि गरेको भनिएको गम्भीर घात सच्चिएको हो वा क्रान्तिको बाटो परिवर्तनको आवश्यकता विप्लवले देखेका हुन् ? यो विषयको जवाफ स्वयम् विप्लवले दिनुपर्नेछ ।
माक्र्सको द्वन्द्धात्मक भौतिकवाद र नेपाली मुलको मौलिक क्रान्तिको फ्युजन गरेको दाबी गर्ने विप्लव अब संसदीय राजनीतिमा सक्रिय बन्लान् ? यस्ता थुप्रै प्रश्नहरु उब्जिएका छन् ।
हुनत, गएको स्थानीय तहको चुनावमै अघोषित सहभागीता जनाएका विप्लवले जनमतमा पाएको असफलताले पनि जनतामा गएर परिक्षण नभएसम्म केहि गर्न सकिन्न भन्ने मानसिकता पलाएको हुनसक्छ । तर, प्रचण्डको नेतृत्वमै पुगेका विप्लवले अब कस्तो बाटो रोज्लान् त्यो समयक्रमसँगै खुल्नेछ ।