
- युवराज आचार्य
झापा । झापासँग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाले नेपालमै पहिलो पटक गुन्द्रुकको ब्रान्डिङ सुरू गरेको छ । रोङ गाउँपालिकाले करिब ६८ लाखको लागतमा गुन्द्रुक प्रसोधन केन्द्रको स्थापना गरी अहिले गुन्दुकलाई ब्रान्डिङ गर्न सुरु गरेको हो ।
रोङ गाउँपालिकामा प्रसस्त मात्रामा रायोको साग उत्पादन हुने गर्दछ । यहाँका अधिकांश किसानहरुले रायोको साग, इस्कुस, टमाटार, अकबरे खोर्सानी, फर्सीलगायतका तरकारी बाली लगाउने गर्दछन् । तर, स्थानीय बजारको अभाव, भौगोलिक बिकटतालगायतले उत्पादन भएको छोटो समयमा नै बिग्रने रायो सागलगायतका समयमा बिक्रि नहुँदा त्यसै खेर जाने गरेको छ । जसका कारण यहाँका किसानहरु बर्षैदेखि मारमा पर्ने गरेका छन् ।
तर, अहिले गाउँपालिकाले नेपालको राष्ट्रिय तरकारीको रूपमा मानिदै आएको गुन्द्रुकलाई प्रसोधन गरी व्रान्डिङ्ग गर्ने कार्य थालेको छ । जसले यहाँका किसानहरुलाई केहि राहात मिलेको छ ।
प्रशस्त उत्पादन भएर पनि बजार अभावले किसानहरुको बारीमा नै कुहिएर जाने रायोको सागलाई खरिद गरी अहिले प्रशोधन गरेर गुन्द्रुक बनाउँन थालिएको गाउँपालिकाकी दाद्य प्राविधिक दिक्षा भट्टराई बताउँछिन् ।
आयतलाई निरुत्साहित बनाउँदै गाउँपालिकामा नै उत्पादन भएका स्थानीय उत्पादनलाई निर्यात गर्न सके त्यसले पालिकाको मात्रै नभएर कृषि क्षेत्रमा लागेका किसानहरु पनि आत्मानिर्भर हुने गाउँपालिकाले जनाएको छ ।
६८ लाखको लागतमा सञ्चालनमा आएको गुन्द्रक प्रसोधन केन्द्रको लागि रोङ गाउँपालिकाको १७ लाख साना किसान कृषि सहकारी संस्थाको १५ लाख र स्विस सरकारको ३६ लाख लगानीमा गुन्द्रुक प्रसोधन केन्द्र सञ्चालनमा आएसंगै पालिकामा प्रसस्त उत्पादन हुँदै आएको रायोको सागलाई प्रसोधन गरेर गुन्द्रुक बनाई बजारीकरण गर्न लागिएको छ । स्थानीय जनप्रतिनिधिका अनुसार अहिले पालिकामा उत्पादन भएको गुन्द्रुक नेपालका विभिन्न क्षेत्रसँगै छिमेकी मुलक भारत लगायतको बजारमा पनि बिक्री-वितरण हुन थालिसकेको रोङ गाउँपालिकाका जनप्रतिनिधि बताउँछन् ।
गुन्द्रुक प्रसोधनले स्थानिय किसानको आम्दानी बढ्नुका साथै स्थानिय स्तरमा रोजगारीको अवसर समेत सिर्जना भएको छ ।