
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गरेका छन् ।
सोमबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा ओलीप्रति संकेत गर्दै उनले केही दिनदेखि मिडियामा बरबराउन थालेको भन्दै मोर्चासँग तर्सिन नपर्ने बताएका हुन् ।
अध्यक्ष यादवले मोर्चा कसैका विरुद्ध लक्षित नरहेको पटकपटक दोहोर्याए । परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढनका लागि मोर्चा गठन गरिएको उनको तर्क थियो ।
अध्यक्ष यादवले प्रतिगमनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिनेहरुका विरुद्धमा भने मोर्चाले संघर्ष गर्ने चेतावनी समेत दिए । उनले समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढनका लागि नै मोर्चा गठन गरिएको र त्यसमा सफलता हात पार्ने दावी समेत गरे ।
अध्यक्ष यादवले भने, ‘हुन त यहाँ मोर्चा, गठबन्धन बन्दै, भत्किदै गएकाले मान्छेलाई अलिकति क्या हो, कसो हो ? भन्ने लागेको पनि हुन सक्दछ । त्यो आशंका हुन पनि सक्छ । त्यसलाई हामीले व्यवहारबाट गलत सावित गर्दै यो मोर्चा निश्चित उद्देश्यका लागि निर्माण गरिएको मोर्चा हो । र, यसलाई सबैले सहयोग गर्नु हुनेछ । र, यसले आफ्नो लक्ष्यतर्फ अगाडि बढने कुरामा मत ढुक्क छु । हाम्रो प्रयास रहनेछ । र, यो गठबन्धनले, मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्ने जरुरी छैन ।’
अध्यक्ष यादवले आफ्नै देशका नागरिकलाई नागरिकताबाट बञ्चित गराउने प्रयास भएको भन्दै त्यसका विरुद्ध संघर्ष गर्न पनि सबैलाई तयार रहन आग्रह गरे । उनले संविधानमा रहेका त्रुटी, कमीकमजोरीलाई सच्याउँदै लैजाने काममा पनि मोर्चाले काम गर्ने बताए ।
अध्यक्ष यादवले सबै समूदायका जनतालाई परिवर्तनको अनुभूति गराउन लागि सामूहिक प्रयास गर्न पनि समाजवादी मोर्चा उपयोगी हुने बताए ।