आलु, प्याजमा लगाइएको भ्याटको बचाउ, घोराही सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन ! (अर्थ रफ्तार)

आलु, प्याजमा लगाइएको भ्याटको बचाउ, घोराही सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन ! (अर्थ रफ्तार)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले खानेतेलको कच्चा पदार्थ आयात महसुलमा गरिएको वृद्धि पुनर्विचार हुनसक्ने संकेत गरेका छन् । भारतमा सूर्यमुखी र भटमासको कच्चा तेलको आयात महसुल शून्य र कच्चा पामोलिनको ५ प्रतिशत छ ।

यसका कारण नेपालका उद्योगको लागत वृद्धि भएर तेल महँगो हुने हुँदा भारतीय सस्तो तेल तस्करीबाट भित्रिरहेको उद्योगीको दाबी पछि उनले कच्चा तेलको आयात महसुलमा संरक्षणको तह हेर्दै फेरि निर्णय गर्न सकिने बताएका हुन् । त्यसैगरि, स्वदेशका किसानले उत्पादन गरेको आलु र प्याजमा मूअकर नलाग्ने उल्लेख गर्दै आलु र प्याजको आयातमा लगाएको भ्याटको भने बचाउ गरेका छन ।

रोमानियासँग श्रम समझदारी गर्ने प्रक्रिया अघि बढ्यो

सरकारले जर्मनी र रोमानियासँग श्रम समझदारी गर्ने प्रक्रिया अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी र रोमानियामा श्रमका लागि जाने श्रमिकको हकहित रक्षा गर्ने भन्दै श्रम सम्झौताको गृहकार्य अघि बढाएको हो ।

रोमानिया चालु आर्थिक वर्षमा मुख्य श्रम गन्तव्यको सूचीमा सातौं स्थानमा छ । चालु आर्थिक वर्ष ०७९\८० को पहिलो १० महिनामा नेपालबाट ११ हजार ४६३ नेपाली नयाँ श्रम भिसामा रोजगारीका लागि रोमानिया पुगेका छन् ।

तथापी, नेपालकालागि वैदेशिक रोजगारीका लागि १११ देश खुला भएपनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा राखिएको छ ।

आन्तरिक गृहयुद्धमा फसेका यी देशहरुमा पनि अब नेपाली श्रमिक पठाउने गृहकार्यमा मन्त्रालय छ ।

१ करोड २० लाख कित्ता फर्जी आवेदन

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्टमा आईपीओमा आवेदन खुला गरेको चौथो दिनसम्ममा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा ठूलो संस्थाको सेयरको लागि आवेदन दिएको तर, बैंक खातामा पैसा नहुँदा रिजेक्ट भएपछि फर्जी आवेदन देखिएको हो ।

कम्पनीले जेठ ३२ देखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो ।

असार ४ गते दिउँसो साढे २ सम्ममा २ करोड ४० लाख ५० हजार कित्ता आवेदन परेकोमा ५० प्रतिशत फर्जी भेटिएको हो ।

घोराही सिमेन्टले सामूहिक लगानी कोष, कर्मचारी, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएको सेयर पुरै बिक्री नभएपछि उक्त सेयर समेत थप गरेर सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो ।

वाणिज्य बैंकले कमाए ५७ अर्ब १७ करोड बढी नाफा

चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन ।

सञ्चालनमा रहेका २१ वटा बैंकहरुमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने, सबैभन्दा कममा कृषि विकास बैंक रहेको छ ।

पहिलो स्थानमा रहेको नबिल बैंकले ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने कृषि विकास बैंकले १ अर्ब २२ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ ।

क्रमशः ग्लोबल आइएमई बैंकले ५ अर्ब ३४ करोड ११ लाख, एनआईसी एसिया बैंकले ४ अर्ब ३९ करोड २७ लाख र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८९ करोड ७२ लाख, रुपैयाँ नाफा आर्जन गरेको छ ।

वैशाख महिनासम्ममा ८ वटा बैंकको नाफा २ अर्ब माथी रहेको छ । भने, २ अर्ब भन्दा कम नाफा हुनेमा ८ वटा बैंक रहेका छन् ।

सांसद विकास कोष : सत्तापक्षका सांसदहरुलाई मात्रै !

बागमती प्रदेश सरकारले बजेटमार्फत ल्याएको सांसद विकास कोषमा सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदहरुबीच नै विभेद गरेको देखिएको छ ।

उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले सांसदका लागि मात्र ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको योजना वितरण गरेको छ ।

जसमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सत्तापक्षका प्रत्यक्ष निर्वाचित सांसदलाई कम्तीमा ८ करोड रुपैयाँ र समानुपातिककालाई ४ करोड रुपैयाँ बराबरको बजेट उपलब्ध गराएको छ भने प्रतिपक्षी दलका प्रत्यक्ष निर्वाचित सांसदलाई ३ करोड रुपैयाँ र समानुपातिक सांसदलाई १ करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ ।

त्यस्तै, सरकारले योजना छनोटबापत सत्तापक्षका प्रत्यक्ष निर्वाचित सांसदहरुका लागि २ अर्ब २५ करोड रुपैयाँ र समानुपातिक सांसदहरुका लागि ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, यस योजनामा सरकारले प्रतिपक्षका कुनै पनि दललाई समावेश गरेको छैन ।

हुन्डाईका विद्युतीय गाडी किन्न व्याजदर ९.९९ प्रतिशत मात्रै

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र आईओएनआईक्यू ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ ।

दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरि यस्तो योजना ल्याएको जनाएको छ ।

यो योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९.९९ प्रतिशत ब्याजदरमा पहिलो बर्षको लागि हुन्डाइ कोना र आईओएनआईक्यू ५ खरिद गर्न सक्ने हुन्डाइले जनाएको छ ।

बैंकको ३ सय १ वटै शाखाबाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुने जनाएको छ । हुन्डाइ कोना र आईओएनआईक्यू ५ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुबै ईभीले ग्राहकको मन जित्न सफल भएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *