पोखरा । पोखरा ८ रत्नचोकमा रहेको रत्नज्योति मा।विको रजत जयन्ती समारोह सम्पन्न भएको छ । रजत जयन्ती मूल समारोह पोखराका मेयर धनराज आचार्यले उद्घाटन गरे । रत्नज्योतिले साताव्यापी कार्यक्रम गरी रजत जयन्ती मनाएको हो । जस अनुसार जेठ २८ गते ट्राफिक सचेतना, २९ गते कानुनी साक्षरता र सचेतना, ३इ० गते पोखरामा सरसफाइ र वातावरणीय सचेतना, ३१ गते दन्तशिविर र सचेतना कार्यक्रम गरेकोथियो । यस्तै जेठ ३२ गते आँखा शिविर र सचेतना कार्यक्रम गरेको विद्यालयले असार १ गते मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको थियो ।
मेयर आचार्यले रत्नज्योति माविले आफ्नो रजत जयन्तीको अवसर पारेर सामाजिक उत्तरदायित्व बहन गर्दै सञ्चालन गरेका महत्वपूर्ण ७ कार्यक्रमको प्रशंसा गरे ।
विद्यालयका प्राचार्य टुवराज बास्तोलाले विद्यालयको प्रगति, वर्तमान अवस्था र भावी शैक्षिककार्यक्रममाथि प्रकाश पारेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थापक हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निर्देशक अम्विकाप्रसाद आचार्य, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख लोकनाथ आचार्य, राष्ट्रिय परीक्षा बोर्डका गण्डकीका निर्देशक लक्ष्मण देवकोटा, पोखरा महानगर शिक्षा महाशाखाका निरीक्षक रामप्रसाद तिवारी, नेसनल प्याब्सन केन्द्रीय उपाध्यक्ष यमबहादुर खड्का, गण्डकीका अध्यक्ष रामबहादुर मोची, मनिपाल टिचिंग अस्पतालका दन्तरोग विभाग प्रमुख डा. रामभक्त अधिकारी, अभिभावक विक्रम रिजाल, पूर्व विद्यार्थी अशोक खड्का लगायतले बोलेका थिए ।
कार्यक्रमबीच रत्नज्योति एक्सलेन्ट अवार्ड वितरण गरिएको थियो । सिनियरतर्फ कंगना गुरुङ र जुनियरतर्फ शिरीस्मा अधिकारीले अवार्ड प्राप्त गर्न सफल भए । विद्यालयमा १० वर्षभन्दा बढी सेवा गरेका ५ जना शिक्षकहरू कमला बास्तोला, अनिता अधिकारी, जमुना अधिकारी, विश्वास गुरूङ र शारदा पौडेललाई सम्मान गरियो ।
विद्यालयले ऐतिहासिक दस्तावेजको रूपमा रहने गरी शैक्षिक तथा अन्य क्रियाकलाप समेत समेटिएको रजत महोत्सव स्मारिका ‘श्री रत्न स्मारिका समेत प्रकाशन र लोकार्पण गरेको छ ।
विद्यालयका ऐकेडेमिक डिन जमुना अधिकारी तथा विद्यार्थीहरूले सञ्चालन गरेको कार्यक्रममा सहायक प्राचार्य अनिता अधिकारीले स्वागत गरेकी थिइन् ।