एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित गर्न नदिने

एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित गर्न नदिने

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसदहरु यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन् ।

नेकपा(एकीकृत समाजवादी)का सांसदहरु सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेट यथास्थितिमा पारित गर्नु नहुने पक्षमा उभिएका हुन् ।

बिहीवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्नु नहुने धारणा राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले यस विषयमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने बताए ।

उनले आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको बतााए । बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उनले स्पष्ट पारे ।

उनले भने, ‘बजेटमा भएका असन्तुलनका सवालमा माननीय सदस्यहरु सबैले कडाइका साथ कुरा उठाउनुभएको छ । र यथास्थितिमा यो बजेट पारित गर्नुहुन्न भन्ने खालको कुरा सबै साथीहरुले बताउनुभएको छ । यही विषयलाई लिएर हामीले अध्यक्ष तथा हाम्रो दलको नेतालाई भनेका छौँ, तपाईले प्रधानमन्त्री, अर्थमन्त्रीहरुलाई समय राख्नुस् । अझ अर्को कुरापनि साथीहरुबाट सुझाव आएको छ, गठबन्धनमा रहेका सबै दलहरुका बीचमा छलफल गरेर, साझा ढंगले बसेर छलफल गर्नुस् भन्नेखालको कुरा भएको छ । अहिले भर्खरै अर्थमन्त्रीसँग पनि सम्पर्क भएको छ । दुई दिन अगाडी मैले प्रधानमन्त्रीलाई भेटेर पनि भनेको छु, यथास्थितिमा यो बजेट पारित हुँदैन । यसमा परिवर्तन गरेर, असन्तुलन भएको कुरालाई सन्तुलित बनाएर मात्रै यो बजेट पारित गर्न सकिन्छ भन्ने खालको कुरा आएको छ ।’

उनले बजेटकै कारण सत्ता समिकरण भने नटुट्ने बताए । तर बजेटमा भएको गलत कुरालाई सच्याउनुपर्ने उनको भनाई छ । आगामी दिनमा निर्वाचित सांसदको सल्लाह, छलफल, र जनतासँगको सल्लाहमा ल्याएको प्रतिवेदन बेगर बजेट बजेट बनाउनु नहुने उनले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *