पोखरा विश्वविद्यालयका उप कुलपति प्राडा प्रेमनारायण अर्यालले समुद्घाटन गर्नुभएको बैठकका विभिन्न सत्रमा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. दिपक बहादुर भण्डारी, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. नमराज धामी, उप प्राध्यापकहरु डा. अर्जुन थापा, अनिता दाहाल र सुवास मल्लले आफ्नो भनाइहरु राख्नुभएको थियो ।
असार ५ गते शुरु भएको बैठक चार दिनसम्म चलेको थियो । बैठकले कट्टरपन्थ उन्मुलनका सन्दर्भमा विभिन्न विश्वविद्यालयहरुले तयार पारेको तालिम पाठ्यक्रमहरुको समिक्षा गरेको थियो । साथै पाठ्यक्रमहरुलाई डिजिटल प्रविधिबाट अगाडि लैजाने गरी कार्ययोजना तयार पारेको थियो ।
बैठकले सहयात्री विश्वविद्यालयहरुले बनाएको अरोरा क्लवहरुको संजाल तयार पारी विद्यार्थीहरुलाई समेत अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने वातावरण बनाउने निर्णय गरेको परियोजनाका पोखरा विश्वविद्यालय व्यवस्थापक टेक बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
बैठकको क्रममा सहभागीहरुले पोखरा विश्वविद्यालयका पदाधिकारीहरुसँग बैठक समेत गरेका थिए । त्यसै गरी पोखरा विश्वविद्यालयमा स्थापना भएको अरोरा क्लवको भ्रमण गरी त्यसका गतिविधिहरुबारे जानकारी लिएका थिए । सहभागीहरुलाई अरोरा क्लव पोखरा विश्वविद्यालयका अध्यक्ष सुरजराज केशरी र उपाध्यक्ष गृष्मा अधिकारीले क्लवका गतिविधि र सिकाईबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।
नेपाल, भारत, स्पेन, रोमानिया, चेक गणतन्त्र र आयरल्याण्डका विश्वविद्यालयका प्राध्यापकहरुकोे टोलीले पोखरा बसाईंका क्रममा फेवाताल, बेगनास ताल, पुम्दीकोट शिव मूर्ति, विश्व शान्ति स्तूपा, डेभिज फल्स, गुप्तेश्वर गुफा, सराङ्गकोट लगायतका स्थलहरुको भ्रमण समेत गरेका थिए ।
बैठकको समापन समारोहमा बोल्दै परियोजनाका अन्तर्राष्ट्रिय संयोजक वनस्थली विद्यापिठ भारतका डा. अजय सुरानाले बैठकका निश्कर्षहरुलाई लागु गर्न सबै विश्वविद्यालयहरुलाई अनुरोध गर्नुभयो । त्यसै गरी मालागा विश्वविद्यालय, स्पेनका जिसस देलगादोले बैठक सफल भएको र सकारात्मक विश्व निर्माणमा यसले थोरै भए पनि भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।