पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा मनोपरामर्श तथा अभिभावक अन्तक्र्रिया गरिएको छ । मनोपरामर्शदाता शंकर पोखरेलले अभिभावक तथा शिक्षकहरूलाई रोचक ढंगले मनोपरामर्श दिए ।
उनले बालबालिकालाई विद्यार्थीको रुचि र क्षमताको आधारमा अघि बढ्न विद्यालयले सहजीकरण गर्नुपर्नेमा जोड दिए । सबैको एकैखालको रुचि र क्षमता नहुने भएकाले बालबालिकालाई अरुसँग तुलना गरेर दबाब दिन नहुने सुझाव दिए ।
यस्तै, अभिभावक तथा विद्यालयबीच भएको अन्तक्र्रियामा अभिभावकहरूले आफ्ना गुनासा र सुझाव प्रस्तुत गरे । अभिभावकका गुनासा सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल प्रेमराज अधिकारीले अभिभावकको सुझाव सल्लाह र विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरी अघि बढ्ने प्रतिबद्धता जनाए । उनले विद्यार्थीको रुचिका क्षेत्र संगीत, कराते, नृत्य कक्षा सञ्चालन गरिरहेको स्मरण गराए ।
विद्यालयका भाइस प्रिन्सिपल घनश्याम आचार्यले सामाजिक विषय नेपाली माध्यममा पढाउँदा विद्यार्थीलाई थप जटिलता भएको अभिभावकको गुनासो सही भएको भन्दै बिस्तारै सहज बन्ने धारणा राखे ।
विद्यालयका प्रशासक तथा १० जोड २ संयोजक भूमिराज अधिकारीले अक्सफोर्ड स्कुलमा गणित विषयको गर्विलो इतिहास स्मरण गर्दै उत्कृष्ट नतिजाको लागि विद्यालय अग्रसर रहिरहने उल्लेख गरे ।