सर्कस, जोक्करहरु र रनभुल्ल दर्शकहरुका नाममा

‘तपाईंजस्तो मान्छे अमेरिका जान हुन्नथ्यो, देशमै बसेर केही गर्नुपथ्र्यो, फर्किनुस्’ भन्ने मेरा थुप्रै शुभचिन्तक, निकट साथीभाइहरू धमाधम कोही यतै अमेरिका आउन थालेका छन् त कोही युरोप र त्यो पनि नभए खाडीतिर धाउने क्रम बढ्दो देखेको छु अहिले मैले । उहाँहरूको मप्रतिको सद्भावको म उच्च सम्मान गर्दछु र भन्दछु– रहरले कोही विदेश जाँदैन, बस्दैन र मेरो हकमा मात्र होइन यो कुरा उहाँहरुको हकमा र हरेक नेपालीको हकमा पनि लागू हुन्छ ।

मेरा कलाकार मित्रहरूदेखि भाइ–बहिनीहरूसम्म त सम्भव हुन सक्नेजति कोही बाटा लागिसके । कोही ग्रिनकार्डको चक्करमा मात्र होइन प्रोसेसमा अघि बढेको पनि देख्छु । त्यो उनीहरूको रहर होइन, बाध्यता र विवशता हो । म त्यसलाई त्यसरी बुझ्छु ।

देश नक्सामात्र होइन, देशभित्र हरेक नागरिक अट्ने मुटु र गाँस–बास–कपासको आधार, बस्ने वातावरण पनि हुनुपर्छ । भोको पेटले खोक्रो राष्ट्रवाद धेरै धान्न सक्दैन । स्वर्गजस्तो देश नेपाल राक्षसी राज, गुण्डाराज र भ्रष्ट लुटेराहरूको फन्दामा पर्दा हरेक नागरिकले देशभित्र भविष्य नदेख्नु, विदेश पलायन हुनुपर्ने बाध्यता हुनु निकै खेदजनक कुरा हो ।

दुःखका साथ भन्नुपर्छ– गत १५ वर्षदेखि म अर्को वर्ष त नेपाल फर्किन्छु भन्दै योजना बुन्दै गर्दा हालसम्म पनि सधैँका लागि देश फर्कें भन्दै फर्किन सकिरहेको छैन । मजस्ता लाखौँको अवस्था मैले त्यही देखिरहेको छु । देश दुखेर मात्र के गर्नु, राक्षसी राज र भ्रष्ट लुटेराहरूको संसारमा हामीजस्ता मान्छे मात्र होइन उनीहरुका सीमित आसेपासे र मतियारहरुबाहेक अब कोही पनि नागरिक जो सत्य, न्याय, धर्म, कर्म, अनुशासन, नैतिकता, सदाचार र विधिको शासनमा विश्वास गर्छन्, तिनीहरु अटाउन गाह्रो छ । लुटेराहरू र तिनका सीमित मतियारहरूका लागि देश देशजस्तो छ तर आम जनताले महसुस गर्ने देश कहाँ छ, पत्तो छैन ।

नक्कली राष्ट्रवादले र युक्रेनी जेलेन्स्कीवादले देश तहसनहस बन्दै छ । अब हामी सिक्किम, फिजी, सोमालिया, रुवान्डा, भेनेजुएला, हाइटी, कंगो, बुरुन्डी, सिरिया, अफगानिस्तान, श्रीलंका हुँदै युक्रेन पथमा लम्किरहेको आभास हुन थालेको छ । युक्रेन खण्डहरमा परिणत भैसकेको छ, रसियासंगको युद्धमा । युक्रेनी जेलेन्स्कीवाद, राष्ट्रवाद त जिउँदै छ तर त्यहाँका जनता कति मरे, कति बेपत्ता भए, कतिले देश छोडे, हिसाब अनगिन्ती छ ।

युक्रेनी जनता अहिले अमेरिका, युरोपदेखि संसारभर शरण माग्दै भागिरहेका छन् तर युक्रेनी जेलेन्स्की पश्चिमाहरूको हातहतियार र सहयोगमा रुससँग लड्दै छन् । त्यहाँका ८० प्रतिशतभन्दा बढी बस्ती, शहर, गाउँ खण्डहर बनेका छन् । म आफैँले आफैँलाई प्रश्न गर्छु– ७० प्रतिशत युक्रेनी जनता देश छोडेर हिँडिसकेको अनुमान छ । ८० प्रतिशतभन्दा बढी बस्ती, शहर, गाउँ खण्डहर बने, युद्ध कसका लागि ? जेलेन्स्कीवाद कसका लागि ? केका लागि ?

पुटिनको रुसी दादागिरी एक्काइसौं शताब्दीमा पनि हिटलरी रुप सम्झाउने खालको छ, शंका छैन तर जेलेन्स्कीको पश्चिमाहरुको उक्साहटमा लड्ने, देश खण्डहरमा परिणत हुने, कोही मारिने, कोही देश छोडेर अरु देशमा शरण लिने, यो अवस्था आउनुमा उनको कूटनीतिलाई सफल मान्न सकिन्छ र ! युक्रेनबाट धेरै कुरा शिक्षा लिन सकिन्छ । यो उदाहरण बुझ्नेहरूका लागि काफी हुनुपर्छ ।

अहिले मात्र होइन, २०४६ यता र विशेष गरी २०५२ यता देश पूरै सर्कसका जोक्करहरुको जोक र स्टन्टबाजीमै चलिरहेको छ, हामी त्यसैमा कहिले यो कहिले त्यो भन्दै जोकहरूमै रमाइरहेका छौँ, जोक्करहरुसँग दङ्ग छौँ । नक्कली राष्ट्रवाद, नक्कली प्रजातान्त्रिक समाजवाद, नक्कली कम्युनिजम, नक्कली लोकतन्त्र, नक्कली गणतन्त्र र नक्कली वादैवादहरूले देश निलिसकेको छ तर अहिले पनि तिनै नक्कली र छलकपट चालहरूसँगै चलिरहेका छौँ ।

जोक्करहरु यति धेरै उत्पादन ग¥यौँ हामीले, त्यसैले होला त्यहाँ जोक र सर्कसहरू मज्जाले चलिरहेका छन्, बिकिरहेका छन् । एकादुई केही गर्छु भन्ने भिजन भएका हिरो बन्नुपर्नेहरू जिरो बनाइएका छन् । अराजकता यति मौलाएको छ कि अब कुन दिन कुन ठेउकेले मोदी र बाइडेलाई नेपाल प्रवेशमा रोक लगाइएको छ भन्छ र भाइरल हुन्छ । सत्य सुन्न, सत्य बोल्न, गर्न कोही तयार छैनन् । पुराना जोगीहरू त फेल भएका थिए थिए, अलि बढी नै खरानी घसेका नयाँ जोगीहरूको खरानी खस्न थालिसकेको छ ।

धर्म अफिम भन्दै मन्दिरमा पिसाब फेर्ने र पण्डितहरु मार्ने, पण्डितहरूका टुप्पी र जनै काट्ने कथित क्रान्तिकारी भैँसीपूजा हुँदै जनै र गेरुवस्त्रमा महाकाल अनि पशुपतिनाथ धाउन र सत्तामा रहिरहन पाउन जेसुकै गर्न पनि तयार देखिन थालेका छन् । यस्तै चटकहरूमा देश रनभुल्ल छ, हामी रनभुल्ल छौँ । रहौँला हामी नेपाली कहाँ नेपालै नरहे भन्ने कुरा गीत, कविता र उक्तिमा मात्र सीमित भएको छ ।

लुट्ने, मान्छे मार्ने, देश बर्बाद पार्ने अपराधीहरु गेरुवस्त्र, जनै लगाएर पशुपति, महाकाल धाएर पाप पखाल्ने प्रयास गर्दा हामी सोझा जनता यो त राम्रो गरे भन्दै तिनै अपराधीहरुको बयानबाजीमा उत्रिन्छौं र भन्छौं– अब हिन्दू राष्ट्र घोषणा गर्छन् । यस्ता चटके, सर्कसे जोक्करहरुका पछाडि लाग्ने, यिनका आरती उतार्ने हामीजस्ता जनता रहेसम्म राष्ट्र र राष्ट्रियता हरदिन मरिरहने छ र युवा, केही गर्न सक्ने क्षमतावान्हरु विदेश पलायन भैरहनुपर्ने छ ।

देशमा फोहोरी राजनीतिबाहेक के कुरा सफल छ ? राजनीतिलाई नै कलकारखाना, उद्योगधन्दा, विकास सबै ठान्ने हो भने हो नेपाल धेरै माथि पुगेको छ । ३ करोड जनसंख्या नभएको देशमा हेर्नुस् त पार्टी कति छन् ? भएजतिका मान्छे कोही नेता, कोही कार्यकर्ता ! खोइ जनता ? अनि यहाँ भविष्य सुरक्षित देख्ने कसले ? हामी दिन–प्रतिदिन दल–दलमा, दरारमा फस्दै गएका छौं । सजिलो छैन निस्किनलाई । सिनमा रहेका पुराना जोगीदेखि अहिलेका नयाँ जोगीसम्म (एकादुई अपवादलाई छाडेर) सबैको चेहरा र नियत देखिसकिएको छ । यो निराशा होइन, यथार्थ बोलेको हो । सत्य तीतो हुन्छ । सबैको जय होस् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top