
- तारा आचार्य
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बस्न लागेको प्रदेशसभा बैठकमा जसपाकी एकमात्रै सांसद निर्मला लिम्बू अनुपस्थित भएकी छन् ।
यतिबेला कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बाेलाइएकाे प्रदेशसभा बैठक जारी छ । तर जसपा सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित रहेकी हुन् ।
बिहीबार नै विश्वासको मत लिने कार्यक्रम रहेपनि मुख्यमन्त्रीले प्रदेशसभा बैठक छोडेर हिँडेपछि सभामुख बाबुराम गौतमले प्रदेशसभाको बैठक आजका लागि सारेका थिए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशी प्रदेशमा ४० सांसद भएको एमाले र ६ सांसद भएको राप्रपा एक ठाउँमा छन ।
याे अवस्थामा कार्की नेतृत्वको सरकार रहिरहन एक मतको आवश्यकता रहेको छ । यद्यपि एकमात्रै सांसद रहेको जसपा तटस्थ रहँदा सरकार ढल्ने सम्भावना कामयै छ ।
उता जसपाकै कारण विपक्षी गठबन्धनसँग पनि ४६ मत मात्रै रहने देखिन्छ । कोशी प्रदेशमा विपक्षी गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ सांसद छन् ।
यसअघि सत्ता गठबन्धनमै रहेका माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिँदा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो ।