
- तारा आचार्य
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिंजो असार १४ गते प्रदेशसभाको बैठकमा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा आज मत विभाजन हुँदैछ ।
प्रदेशसभाले भने हिंजै यो विषयको छिनोफानो गर्ने तयारी गरेको थियो । तर, विश्वासको मत मागेर हिँडेका मुख्यमन्त्री कार्की राती साढे ९ बजेसम्म पनि नफर्किएपछि बैठक स्थगित गरिएको थियो ।
प्रदेशसभाको बैठक अहिले केहीबेर अघि सुरु भएको छ । विश्वासको मत विभाजन अघि मुख्यमन्त्री कार्कीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सुरु गरेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशी प्रदेशमा ४० सांसद भएको एमाले र ६ सांसद भएको राप्रपा एक ठाउँमा छन ।
यो सरकारलाई एक मत आवश्यक्ता रहेको छ तर एक मत भएको जसपाले यस अघिनै सरकार संगको सहकार्य तोडेको छ । प्रदेशको विपक्षी गठबन्धनसँग पनि ४६ मत मात्रै छ ।
४६ मध्ये एक सिट रहेको जसपाले हिजो विज्ञाप्ति निकालेर विश्वासको मत विभाजन हुँदा तटस्थ बस्ने निर्णय गरिसकेको छ । कोशी प्रदेशमा विपक्षी गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४६ प्रदेशसभा सदस्य छन ।
सभामुख बाबुराम गौतम माओवादीबाट निर्वाचित भएकाले निर्णायक अवस्थामा उनले गठबन्धनलाई मत दिन सक्ने सम्भावना छ । तर सरकार गठन प्रक्रियामा उनलाई जोड्न मिल्ने वा नमिल्ने भन्नेमा बहस जारी छ ।