किन बारम्बार लड्दैछन् सीके र उपेन्द्र ?

काठमाडौं । जनता समाजवादी पार्टी र जनमत पार्टीबीच राजनीतिक दुरी बढ्दै गएको छ । मधेसको राजनीति आफ्नो पक्षमा पार्न उद्दत जसपा र जनमतबीचको लडाईका कारण सरकारदेखि विभिन्न क्षेत्रमा प्रभाव पर्ने गरेको छ ।

मधेस सरकारमा आलोपालो गर्न सहमत भएका दुई दलहरु अब एकले गरेको काममा अर्कोले विरोध गर्नैपर्ने अवस्थामा आइपुगेका छन् । के जसपा र जनमतबीचको टकराव थप चुलिएला ?

मधेसमा आफ्नो शक्ति केन्द्रित भएको ठानेका जसपा अध्यक्ष उपेन्द्र यादव मधेस प्रदेशमा आफ्नो प्रभुत्व कायमै राखिराख्न चाहन्छन् । तर, विखण्डणको नारा लगाएर चर्चा र हिरासत जीवन नै भोगेका जनमत पार्टीका सीके राउतले पनि मधेसमा आफूलाई स्थापित गराउने ध्याउन्नमा देखिन्छन् ।

उपेन्द्र यादवको चुनावी क्षेत्रमा आफू चुनाव लड्न नहुने भन्दै भद्र सहमति नै भएको बताउने सीके अन्ततः उपेन्द्रकै परस्पर विरोधी र प्रतिष्पर्धी बनेर निस्किएका छन् ।

गएको चुनावमा उपेन्द्रलाई नै पराजित गरेपछि थप हौसिएका सीकेले उपेन्द्रलाई मधेसमा टिक्न नदिने रणनीति अख्तियार गरेका छन् ।

यता उपेन्द्र पनि राष्ट्रिय राजनीतिलाई लामो समय झेलेका कारण जनमतलाई कसरी सत्ताबाट बाहिर ल्याउन सकिन्छ भन्ने ध्याउन्नमा पूर्ण रुपले लाग्ने विषय स्वभाविक नै बन्न पुगेको छ ।

उपचुनावबाट सांसद बनेर आएपछि उपेन्द्रले आफ्नो सक्रियतालाई थप बलियो पारेकै कारण जनमतलाई मधेसदेखि केन्द्रीय सत्ताबाटै पाखा लगाउने रणनीति बलियो बनाएका छन् ।

मधेसमा पनि जनमतका मन्त्रीलाई विना बिभागिय बनाउनेदेखि सरकारबाटै बाहिरिए राम्रो हुने जसपाले बताउने गरेको छ ।

केन्द्रीय सत्ता समिकरणका कारण मधेस सरकारमा टिकेको जनमत अब भने संकटमा फस्ने पक्का जस्तै बन्न पुगेको छ ।
उपेन्द्र प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सहभागी समाजवादी मोर्चामा छन् ।

सरकारको नेतृत्व गरेको दलसँगको मोर्चा र जनमतले बजेटको विपक्षमा गरेको मतदान अब सीकेका लागि थप प्रतिकुल बन्ने विश्लेषण हुन थालेको छ ।

सीके नहुँदा पनि सत्तारुढ दलको मधेसमा बहुमत पुग्ने र केन्द्रीय सत्तामा पनि बहुमत पुग्ने भएकाले अब जनमत पाखा लाग्ने सम्भावना बलियो छ ।

अझं, जसपाले समर्थन नगरेको ठाउँमा जनमतले समर्थन गर्ने र जनमतले समर्थन गरेको ठाउँमा जसपाले समर्थन नगर्ने जुन परम्परा बनेको छ, यसले पनि जनमत सत्ताबाट बाहिरिनुपर्ने सम्भावना बलियो देखिन्छ ।

उपेन्द्र सीके सत्ता सहकार्य सहज नबनेकै कारण सत्तामा उनीहरुबीच सहकार्य लामो समय नहुने देखिन्छ ।

यतिमा मात्रै नभएर सीके र उपेन्द्रबीचको टकराव उत्कर्षमा पुगेको मधेस जानकारहरुले बताउन थालेका छन ।

राजनीतिक मुद्दामा खासै फरक देखाउन नसकेका उनीहरुले प्रतिष्ठाको लडाई लड्न खोज्दा एकअर्काप्रति निषेधको राजनीतिमा होमिने खतरा उत्तिकै बढ्ने देखिन्छ ।

सीकेले परिपक्कता देखाउन नसके उनी सत्ताबाट मात्रै बाहिरिने छैनन्, मोर्चाबन्दीको राजनीतिक सिकार समेत बन्ने खतरा उत्तिकै छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top