
- ज्योति कुमार पन्थी
बर्दिया । नेपालको अन्नको भण्डारका रुपमा चिनिने जिल्ला हो बर्दिया । तर, असारको तेस्रो सातासम्मपनि प¥याप्त पानी नपर्दा बर्दियाका किसानले रोपाईंलाई तीव्रता दिन सकिरहेका छैनन् ।
समयमा पानी परेको भए यतिबेला अधिकांश रोपाईं लगभग सकिन्थ्यो । तर, प¥याप्त वर्षा नहुँदा अधिकांश खेत अझै बाँझै छन् ।
अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लामा ५० हजार २ सय ५० हेक्टर जमिनमा धान खेती हुदै आईरहेको छ ।
बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान पकेट क्षेत्रको रुपमा पनि चिनिन्छ । बर्दियामा उत्पादन भएको अन्नबाली बाँके, दाङ, रुपन्देही, कपिलवस्तु, कास्कीलगायतका जिल्लामा रहेका ठुलाठुला शहरहरुमा पुग्ने गर्दछ ।
तर, यस बर्ष भने अहिलेसम्मपनि प¥याप्त पानी नपर्दा बर्दियाका खेतहरु उजाड नै छन् ।
बर्दियामा प्रत्येक वर्ष करिव १ लाख ५० हजार मेटिकटन धान उत्पादन हुने गरेको छ । यहाँ ७५ हजार हेक्टर जमिनमा खेती हुँदै आएको भए पनि त्यसको करिव ७५ प्रतिशत भाग अर्थात ५० हजार २ सय ५० हेक्टर जमिनमा विशेषगरि धान उत्पादन हुने गर्दछ । तर, धान लगाउने समयमा पानी नपर्ने, मलको समेत अभाव हुने हुँदा उत्पादन कम भइरहेको छ ।
नहर र सिंचाई सुविधा नभएको गुलरिया नगरपालिका भित्र अहिलेसम्म ५ प्रतिशत पनि धान रोपाई भएको छैन । लुम्बिनि प्रदेशमा मात्र अहिले सम्म ११ प्रतिशत रोपाई भएको छ भने बर्दियामा जम्मा २० प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र बर्दियाले जनाएको छ ।
सिँचाईबाहेक मलखाद्य र कृषि मजदुरको अभावमा पनि वर्सेनि धान खेती प्रभावित हुँदै आएका छन् । एकातिर सिँचाइ अभाव अर्कातिर आवश्यकतानुसार कृषि मजदुर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानहरुको गुनासो छ ।