
- बिमल क्षेत्री, युवराज आचार्य, तारा आचार्य
काठमाडौं । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । असार १५ लाई उत्सवका रुपमा मनाइने दिनसम्म देशैभर आधा भन्दा बढी रोपाई भइसकेको हुन्छ । तर यसपाली मनसुन ढिलाइ हुँदा धान बढी उत्पादन हुने तराईका कतिपय क्षेत्रमा धान रोपाई अझै शुरु हुन भने सकिरहेको छैन भने अधिकांश ठाउँमा रोपाईँ शुरु भएको छ ।
कृषिमा सबैभन्दा बढी धान उत्पादनलाई नै सरकारले जोड दिने गरेको छ । कृषि उत्पादनलाई संघ सरकारका साथै स्थानीय सरकारले पनि जोड दिएका छन् ।
तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । सुदूरपश्चिम प्रदेशमा करिब ८५ प्रतिशत भन्दा बढी जनता कृषि पेशामा निर्भर छन् ।
लुम्बिनी प्रदेशको बुटवललाई आवश्यक कृषि उत्पादन बुटवलमै तयार हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे बताउँछन् ।
बुटवल १४ मा मकै पकेट क्षेत्र नै घोषणा गरी कार्यक्रम कार्यान्वयन भएको भन्दै मेयर पाण्डेले आगामी वर्षदेखि तरकारी तथा धान र गहुँको पकेट क्षेत्र बनाउने गरी तयारी गरेको बताए ।
त्यस्तै, झापाको १५ ओटै पालिकामा साउन तेस्रो सातासम्म रोपाई हुने भएता पनि विशेषगरी असार १५ लाई उत्सवको रुपमा मनाउने गरिएको छ ।
खेती गर्ने प्रशस्त जमिन हुँदा हुँदै पनि पछिल्लो समय युवाहरु बैदेशिक रोजगारीमा जाने लहरले एकातिर कामदार अभाव हुने गरेको छ भने खेतियोग्य जमीन बाँझै हुने गरेका छन् ।
खेतीपाती छाडेर बसेकाहरुलाई कृषिमा आकर्षण गर्दै उत्पादनमा बृद्धि गर्न असार १५ को धान दिवसले पनि टेवा पु¥याउने गरेको किसानहरुको भनाई छ ।
धान उत्पादनको हिसाबले देशकै अब्बल जिल्लाको रुपमा रहदैं आएको झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । किसानहरुले यसपालिको धान रोपाईँ धमाधम गरिरहेका छन् ।
असार पहिलो सातादेखि धान रोपाई सुरु भएकोे झापामा असार १५ सम्ममा २० प्रतिशत रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यस्तै, मोरङको विराटनगर महानगरपालिकाले विराटनगर–१२ स्थित बखरीमा शुक्रबार सामूहिक धान रोपाइँको आयोजना गरियो ।
मुलुकलाई कृषि प्रदान देश भनिएपनि किसानले सहज रुपमा मल, सिंचार र बिउ नपाउँदा लक्ष्य अनुरुपको उत्पादन बढाउन नसकिएको स्थानीय जनप्रतिनिधिहरुकै गुनासो छ ।
धानखेतिप्रति किसानलाई उत्साहित गराउन भन्दै सरकारले असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गरे पनि धान खेती गर्ने किसान भन्दा गैरकिसानहरुले आजको दिनमा हिलोमा रमाउने, फोटोसेसन गर्ने र सामाजिक सञ्जालहरुमा पोष्टिने जस्ता विकृतिहरु पनि बढ्दै गएका छन् ।