धान रोप्न स्कुले बालबालिका खेतमा (तस्वीरहरू)

धान रोप्न स्कुले बालबालिका खेतमा (तस्वीरहरू)

  • अनमोल कार्की

रौतहट । आज असार १५ राष्ट्रिय धान दिवस रौतहट लगायत देशैभर विविध कार्यक्रम गरेर मनाइएको छ । यस दिवसको अवसरमा पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीसम्म, सासंद देखि नगरप्रमुख लगायतका जनप्रतिनिधीहरु धान रोप्न खेतमा पुगेका छन् । विभिन्न संघसंस्थाहरुले पनि आजको दिन रोपाईको कार्यक्रमको आयोजना गरेका थिए ।

रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रपुर एकेडेमीले पनि आफ्ना विद्यार्थीहरुको सहभागितामा धान रोपाइँ गरेको छ । विद्यार्थीहरु खेतमै गएर धान रोप्न पाउँदा रमाएर रोपेका थिए । कति विद्यार्थीहरुले आफुहरु पहिलो पटक धान रोप्न खेतमा पसेको अनुभव सुनाएका शिक्षक सिताराम सिग्देलले बताउँछन् । धान रोप्न तयार पारिएको खेतमा विद्यार्थीहरुले धानको विउ उखाल्ने, ओर्साने, रोप्ने जस्ता कार्यहरु गर्दा निकै उत्साहित भएको उनको भनाइ छ ।

नेपाल कृषि प्रधान देश भएका यहाँ कृषि र कृषक पेशाको निकै महत्व रहेका विद्यार्थीहरुलाई सानै उमेरदेखि कृषि सम्बन्धि ज्ञान दिन धान दिवसको अवसर पारेर खेतमै लगेर धान रोप्न लगाई प्रयोगात्मक ज्ञान दिएको विद्यालयका प्रिन्सिपल गरीमा घिमिरेले बताइन् । उनले चन्द्रपुर एकेडेमीले आफ्ना विद्यार्थीहरुमा शिक्षासँगै शिप पनि सिकाउँदै आइरहेको जनाउँदै असार १५ को महत्व बुझाउन विद्यार्थीहरुकै सहभागितामा धान रोप्ने कार्य गरिएको बताइन् ।

आफुहरुले साथीहरुसँग खेतमा गएर धान रोप्दा निकै रमाइलो अनुभव भएको विद्यार्थी इशिका सिंहले बताइन् । आजको दिनलाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा समेत लिने भएकाले विद्यार्थीहरुलाई यसको प्रयोगात्कम ज्ञान दिन धान रोपाईमा सहभागिता गराइएको विद्यालयका अध्यक्ष वसन्त आचार्यले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *