
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुस ११ गते नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । दुई महिना नपुग्दै प्रचण्डले गठबन्धन बदले । कांग्रेसहितको पुरानै गठबन्धनमा आएका प्रचण्डको राजीनामा माग गर्दै एमालेले यतिबेला संसद अवरुद्ध गरिरहेको छ । प्रचण्डको आफ्नै अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने एमालेले बताएको छ । तर प्रचण्डको राजीनामा मागेको एमालेतिरै प्रश्न तेर्सिएको छ, एमालेले प्रचण्डलाई किन प्रधानमन्त्री बनायो त ?
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला सवत्र्र आलोचित छन् । उनले सोमवार ललितपुरको कुपण्डोलमा आयोजित सरदार प्रितम सिंहकी छोरीको पुस्तक विमोचन कार्यक्रममा सिंहको प्रशंशा मात्रै गरेनन् । आफूलाई प्रधानमन्त्री बनाउन सिंहले पटक पटक दिल्ली धाएको अभिब्यक्ति दिए । उक्त अभिब्यक्ति अहिले प्रचण्डकै लागि भारी भएको छ । महेन्द्रकालीन समयमा ब्यवसाय गर्न भन्दै नेपाल छिरेका भारतीय नागरिक प्रितम सिंह महेन्द्रकै पालादेखि राजपरिवारसँग नजिक छन् । शान्ति प्रक्रियामा आए लगत्तै सिंहसँग माओवादी नेतृ पम्फा भुसाल मार्फत सम्बन्ध नजिक बनाएका प्रचण्ड आफैले प्रधानमन्त्री बन्न दिल्ली धाउनुपर्ने आशय ब्यक्त गरेपछि अहिले सबैभन्दा बढी एमाले विरोधमा उत्रिएको छ । राष्ट्रिय स्वाधिनता विपरितको अभिब्यक्ति भन्दै एमालेले बुधबारदेखि संघीय संसदको दुवै सदन चल्न दिएको छैन । एमालेको अवरोधका कारण प्रतिनिधिसभा शुक्रबारका लागि बोलाइएको छ भने विहीबारको राष्ट्रियसभा बैठक पनि एमालेकै अवरोधका कारण स्थगित भयो ।
प्रधानमन्त्री बन्न दिल्लीको आर्शिवाद चाहिने आशयसहितको प्रचण्डको अभिब्यक्ति भन्दा केही समयअघि माओवादी केन्द्रकै उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले सरकार विदेशीले चलाउने गरेको अभिब्यक्ति दिएका थिए । महराको यस्तो अभिब्यक्तिको खासै चर्चा चलेन । अहिले प्रचण्ड आफैले दिएको अभिब्यक्तिले महराको अभिब्यक्तिलाई पुष्टि गरिदियो । चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री प्रचण्डले आफैले दिएको अभिब्यक्तिलाई गलत ढंगले बुझिएको भन्दै बुधबार विद्यार्थी समूहको एउटा कार्यक्रममा सच्याउन खोजे । विहीबार माओवादी केन्द्र र प्रचण्ड सचिवालयले पनि विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिब्यक्तिको बचाउ गरेको छ । सार्वजनिक कार्यक्रममा भाषणको क्रममा चिप्लिएका प्रचण्डको बचाउ गर्न माओवादी पंक्ति यतिबेला भ्रष्टाचारविरुद्धको अभियान रोक्न राजीनामा मागिएको तर्क गर्न थालेको छ । माओवादी पंक्तिले एमालेलाई ‘रअ’को एजेन्टदेखि संविधान विघटन गरेको आरोप लगाएको छ ।
यहि विषयलाई लिएर एमाले र माओवादीले एकले अर्कालाई हिलो छ्याप्न शुरु भएको छ । नेपालको सरकार विदेशीको इशारामा चल्ने गरेको आरोप यसअघि पनि लाग्दै आएको थियो । तर अहिले प्रचण्ड दिएकोको अभिब्यक्ति सहि हो भने एमालेले दिल्लीको योजनामा प्रचण्डलाई प्रधानमन्त्रीमा किन बनायो भन्ने प्रश्न पनि तेसिन्छ । यसर्थ कांग्रेस क्याम्पबाट उछिट्टिएर पुस ११ गते बालकोट पुगेका प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्नुले एमाले भित्र पनि खोट देखिन्छ । त्यसैले शीर्ष राजनीतिक दलहरुले एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न छाडेर आम नगरिकमाथि आत्मलोचना गर्दै आगामी दिनमा राष्ट्रका लागि अघि बढ्ने प्रण गर्नु जरुरी छ । अन्यथा अर्को निर्वाचनमा जनताले नगलहत्याउलान् भन्न सकिँदैन ।