
काठमाडौँ । समाजवादी मोर्चाको पहिलो बैठक आज बसेकाे भएको छ । मोर्चाको एक मुख्य घटक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेकाे हो ।
गत असार ४ गते ४ दल मिलेर उक्त मोर्चा घोषणा गरेका थिए । त्यसयता पहिलोपटक चारै दलका शीर्ष नेताहरु सम्मिलित बैठक बसेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत नेताहरु उपस्थित छन् ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रममा मोर्चाले खेल्नुपर्ने भूमिका, आगामी कार्ययोजना र सशक्तताका लागि गर्नुपर्ने कामबारे छलफल हुने जनाइएको छ ।