डायमन्डमा बधाई र सम्मान

डायमन्डमा बधाई र सम्मान

लेखनाथ ।  पोखरा २७ तालचोकमा रहेको डायमन्ड माविले यस वर्षको एसइई मा उत्तीर्ण विद्यार्थीलाई एक कार्यक्रमबीच सम्मान तथा बधाई दिइएको छ । परीक्षामा उत्तीर्ण ८९ जना विद्यार्थीका लागि शनिबार बधाई तथा सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख प्राडा देवेन्द्रबहादुर लामिछानेले अहिले तेस्रा औद्योगिक क्रान्ति सुरु भइसकेको अवस्थामा सूचना प्रविधि र कृत्रिम बौद्धिकताको तीव्रतर विकास भइरहेको र शैक्षिक संस्थाले पनि प्रविधिको विकासलाई सँगै लिएर स्मार्ट शिक्षा दिनुपर्नेमा जोड दिए ।
उनले विद्यालयले सञ्चालन गरेको ‘स्ट्डी स्मार्ट विथ माई सेकेन्ड टिचर’ तर्फ संकेत गर्दै स्मार्ट एजुकेसनका लागि विद्यालयले गरेको प्रयासका लागि आभार व्यक्त गरे ।

पोखरा ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले शिक्षामा राजनीतिकरण हुने गरेकोमा असन्तुष्टि जनाउँदै स्थानीय सरकार प्रमुखको हिसाबले आफूले निजी तथा सरकारी विद्यालयलाई सँगसँगै लैजाने प्रयास गरेको बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका महासचिव उपेन्द्रराज सुवेदी ‘राजु’ ले विद्यालयले शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताउँदै नयाँ अवधारणाका साथ अघि बढेकोमा सबै विद्यार्थीहरू उत्साहित भएको आफूले पाएको बताए ।

अभिभावकहरूको तर्फबाट विनोद न्यौपाने, विद्यार्थीहरूको तर्फबाट विनायक न्यौपाने, रुविना पौडेल, मयूर शाहीलगायतले बोलेका थिए । विद्यालयका शैक्षिक प्रशासन प्रमुख इन्जिनियर सञ्जीव थापाले स्किल एकेडेमीसँगको सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीलाई माई सेकेन्ड टिचरका रुपमा विकास गर्ने गरी कक्षामा स्मार्ट प्रविधि जडान गरिएको र डिजिटल कक्षा कोठा, शिक्षकका लागि पाठ्यसामग्री निर्माण, सेमिनार, अन्तर संवादलगायत माध्यम समावेश गरिने बताएका थिए ।

विद्यालयका संस्थापक प्राचार्य यमबहादुर रोकाले पछिल्लो पुस्ता प्रविधिमा अभ्यस्त हुँदै गएकाले स्मार्ट प्रविधिलाई माई सेकेन्ड टिचरका रुपमा विकास गर्दै, श्रव्यदृश्य संवाद, अन्तक्र्रिया, प्रश्नोत्तर एवं अभ्यासको माध्यमबाट स्मार्ट शिक्षण सिकाइको माध्यमलाई विद्यालयले प्रयोगमा ल्याएको दाबी गरे । कार्यक्रममा विद्यालयका शिक्षक तारानाथ पराजुलीले शार्दूलविक्रीडित छन्दमा बधाई शीर्षकको कवितावाचन गरेका थिए ।

विद्यालयका निर्देशक माधवशरण उपाध्यायले विद्यार्थीले हासिल गरेको उपलब्धिप्रति विद्यालय परिवार गौरवान्तित भएको बताउँदै यसमा अभिभावकको पनि उल्लेखनीय भूमिका रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षिका सविता ढुंगानाले गरेकी थिइन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top