पोखरा । पोखरा विश्वविद्यालयको २३ औं सभाको बैठक प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एव पोखरा विश्वविद्यालयका सह–कुलपति अशोककुमार राईको उपस्थिति थियो ।
सभाले विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम एवं रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत १ अर्ब ४६ करोड २२ लाख ७७ हजारको बजेट पारित गरेको छ ।
पारित बजेटमा पुँजीगत खर्चतर्फ ५० करोड ६० लाख ३४ हजार र साधारणतर्फ जम्मा ९५ करोड ६२ लाख ४३ हजार रहेको छ ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रमा धेरै विकृति र विसंगति मौलाउँदै गएको उल्लेख गरे । प्रधानमन्त्रीले शिक्षा क्षेत्रमा गर्नुपर्ने कुरा धेरै भएको र शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीको विदेश मोह रोक्न सरकार गम्भीर भएको बताए ।
शिक्षामन्त्री अशोककुमार राईले विश्वविद्यालयले अगाडि सारेका नीति तथा कार्यक्रमलाई एकताबद्ध भएर कार्यान्वयन गर्न सम्बद्ध पक्ष जिम्मेवार र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । उनले उच्च शिक्षामा सामना गर्नुपर्ने चुनौती धेरै भएको उल्लेख गर्दै बहुमतलाई कदर गरेर अघि बढ्न सबैलाई आग्रह गरे ।
पोविविका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयले २६ वर्षको अन्तरालमा एउटा विशिष्टीकृत पहिचान र उचाइ लिएको उल्लेख गर्दै यसको गौरव र गाथालाई अक्षुण्ण राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले राष्ट्रियस्तरमा देखा परिरहेको विद्यार्थी पलायन रोक्न र विश्वविद्यालयहरूमा घट्दै गएको विद्यार्थी भर्नादर बढाउन सरकार र सम्बद्ध सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा समेत जोड दिए ।