कमजोर दल सत्तामा, ओली सत्ताबाहिर हुँदा छट्पटीमा, लिङ्देन धरान गएर काम गर्ने

कमजोर दल सत्तामा, ओली सत्ताबाहिर हुँदा छट्पटीमा, लिङ्देन धरान गएर काम गर्ने

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीका लागि अहिले सत्ता प्रमुख विषय नभएको बताएका छन् । मुलुकको राजनीतिमा जो कमजोर शक्तिसहित आएको छ उसैले नेतृत्व गर्ने कुरा परिपाटी जस्तै बन्न पुगेको भन्दै उनले एमालेका लागि तत्काल सत्ता प्रमुख विषय नभएको दाबी गरेका छन् । बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुक निर्माण गर्न सकिने निष्कर्षका साथ एमाले अघि बढिरहेको महासचिव पोखरेलको भनाई छ । एमालेले सत्ता प्राप्तिलाई प्राथमिकतामा नराखी शक्ति निर्माणमा जुटेको उनको भनाई छ । धेरै राजनीतिक दल हुँदा मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको पोखरेलको भनाई थियो । यस्तै उनले मुलुकमा वैदेशिक हस्तक्षेप पनि बढेको जिकिर गरेका छन् ।

ओली सत्ताबाहिर हुँदा छटपटीमा

नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने काम एमालेको बच्पना भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको अनौपचारिक भनाईलाई लिएर एमालेले अभिव्यक्ति दिनु मृगतृष्णा रहेको उनको भनाई छ। उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफ्नो दलमा छलफल पनि नभएको र प्रधानमन्त्रीले औपचारिक र विचार गरेर बोल्नुपर्ने आफ्नो धारणा रहेको बताए । गत असार १८ गते प्रीतम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको बताएपछि विवादमा तानिएका थिए । सोही भनाइलाई आधार बनाएर संसद् अवरोध गर्नु एमालेको बच्पना र केपी ओली सत्ताबाट झर्नुपरेको छटपटी रहेको भुसालको टिप्पणी छ ।

रविको पार्टीको हालत पनि पुरानै दलको जस्त हुने दाबी

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि पुराना राजनीतिक पार्टीहरुको जस्तै हुने दावी गरेका छन् । लाल, पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको तर्क थियो । दलाल पूँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरु अघि बढन सक्ने अवस्था नरहेको उनको तर्क छ । आफ्नो पार्टी मात्रै दलाल, पूँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दावी गरेका भुसालले पार्टी निकट कानुन व्यवसायीहरुलाई समाजवाद निर्माणका लागि न्यायालयभित्र रहेका बिचौलिया तन्त्रको अन्त्य हुने गरी लाग्न पनि सचेत गराएका छन् ।

दलको नेता र प्रधानमन्त्रीको तयारी गर्छुः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै गगनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए । नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने दाबी गरेका छन् । अब फेरी आफू संसदीय दलको नेता बन्न लागिपर्ने उनको भनाई छ ।

हामीलाई राज्यले नेपाली नै ठान्दैन : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेसी, थारु लगाएत समूदायलाई राज्यले नेपालीको रुपमा नलिएको गुनासो गरेका छन् । रौतहटको डुमरियामा रेशमले मधेसी समूदायका मानिस नेपाली भएपनि नेपाली हुन नसकेको भन्दै दुख व्यक्त गरेका छन् । गौरको कार्यक्रमका लागि रौतहटमा उनले यस्तो दाबी गरेका हुन् । ’हामी नेपाली भएर पनि नेपाली किन हुन सकिरहेका छैनौं ? नेपाली भएर पनि नेपालीको व्यवहार राज्यले हामीलाई किन गरिरहेको छैन ? हाम्रा पुर्खाले के अपराध गरे ?’ रेशमले प्रश्न गरेका छन्। मुलुकमा वेरोजगारी दर बढ्दै गएको र आफ्नो पहुँच राज्यको तहमा पुग्न नसकेको उनको भनाई छ । पहिचानका लागि संघर्षका कामहरु गर्नुपर्ने उनको तर्क छ । यस्तै, उनले राज्यका हरेक क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गर्न पनि संघर्ष गर्नुपर्ने उनको भनाई थियो ।

धरानमा गएर काम गर्ने राजेन्द्र लिङ्देनको उद्घोष

हर्क साम्पाङ मेयर रहेको धरान उपमहानगरपालिका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ६ महिनाका लागि धरान जाने उद्घोष गरेका छन् । हर्कले श्रमदान गरेर पानी ल्याउनेदेखि श्रम शिविर नै चलाएपछि धरानमा नेताहरु जाने र उनको प्रशंसा गर्ने काम हुँदै आएको छ । यसरी नै राजेन्द्र लिङ्देनले पनि चर्चामा आएको धरानमा ६ महिना विताउने दाबी गरेका हुन् । पार्टीलाई स्थानीय तहसँग जोड्नु पर्ने बताएका उनले सबै नेता कार्यकर्ता स्थानीय तहमा जानुपर्ने उनको भनाई छ । ६ महिनामा दैनिक त्यहाँ बस्न सम्भव नभएपनि धेरैजसो समय स्थानीय तहलाई दिने र वडा वडाबाट जनताका कुरा सुन्नुपर्ने उनले भनाई छ ।

कतार एयरलाइन्सले अनुमति मागेको छैन : प्राधिकरण

कतार एयरलाइन्सले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उडान अनुमतिका लागि कुनै पनि प्रस्ताव नगरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार कतार एयरलाइन्सले कुनै प्रस्ताव नगरेको हो । प्राधिकरण आफैले कतार एयरलाइन्सलाई औपचारिक, अनौपचारिक रुपले प्रस्वात गरिसकेको स्मरण गर्दै भुलले यस्तो प्रस्ताव आए तत्काल स्वीकार गर्न प्राधिकरण तयार रहेको बताएका हुन् । नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा उडानका लागि ६ पटक पत्राचार गरिएको तर नेपाली अधिकारीले चासो नदिएको दाबी गरिएको बताइएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको बिदाई भेटमा यस्तो बताइएको दाबी गरिएको थियो । तर, यस्तो प्रस्ताव नआएको प्राधिकरणले स्पष्टीकरण नै दिएको छ।

छात्रवृत्तिमा पढ्न चाहनेका लागि आवेदन माग

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन माग गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकोले महानगरपालिका आफैंले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको हो ।

महानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरेको जनाएको छ । आवेदन साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिनेछ । आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिने कार्यतालिका महानगरले सार्वजनिक गरेको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैक्ल्पिक वस्तुगत प्रश्न हुनेछन् । विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले यसपछि सार्वजनिक गर्ने जनाएको छ । शिक्षा ऐन–२०२८ मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

एसईई पुरक परीक्षा कहिले र कसले दिने ?

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जानकारी दिएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र आवेदन फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने उक्त सूचनामार्फत जनाइएको छ । तर, परिक्षा रद्द भएका परिक्षार्थीले भने परिक्षामा सहभागी हुन नपाउने भएका छन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ । गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसइईको नतिजा यही असार २१ गते सार्वजनिक गरिएको थियो । त्यसमा २२ हजार चार सय ७५ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका थिए ।

कालिकोटमा अज्ञात रोगबाट ३ सय ११ प्रभावित

कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन्। अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ ।

चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिएका छन् । बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ। अधिकांश बिरामी महिला र बालबालिका रहेको बताइएको छ । बिरामीमा समेत एउटै किसिमको लक्षण देखा परेको बताइएको छ । बिरामी अधिकांश १५ वर्षमुनिका रहेको पाइएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *