काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै आफूलाई प्रधानमन्त्री बनाएकाले यसबारे अपव्याख्या गर्नुको औचित्य नभएको बताएका छन् । सोमबार प्रतिनिधि सभामा आफुले दिएको विवादित अभिव्यक्तिबारे प्रष्टिकरण दिँदै उनले एमालेले आफुलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकाले आफुलाई दाउपेचमा नघेर्न आग्रह गरे । एमालेले आफूमाथि प्रश्न उठाएर राष्ट्रपतिकहाँ हस्ताक्षर गरेर बुझाएको पत्रको समेत अवहेलना गरेको उनको भनाइ छ । आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्तिका कारण नेकपा एमालेले संसद अवरुद्ध गरेपछि उनले सोमबार स्पष्टीकरण दिएका हुन् । प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर उनले आफूले दिएको अभिव्यक्तिको सन्दर्भ समेत प्रष्ट्याए । शब्द चयन प्राविधिक क्रुटी भएपनि आफ्नो मनसाय राष्ट्रघात हुँदै नभएको उनको प्रष्टिकरण थियो ।
वाइपास गरिए स्वीकार नहुने रवि लामिछानेको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफूहरूलाई बाइपास गरे राम्रो नहुने चेतावनी दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाका पनि आफ्नो मुद्दा रहेको भन्दै वाइपास नगर्न चेतावनी दिएका हुन् । उनले आफूहरूलाई बोल्न नदिएर प्रमुख प्रतिपक्षले बोलेको विषयलाई नै आफूहरूको भाष्य भनेर स्थापित गराउन खोजेको आरोप समेत लगाए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति आपत्तिजनक भएको समेत टिप्पणी गरे ।
संसद तीन दलको बन्धक हुन सक्दैन : लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा ३ दल मात्र नरहेका भन्दै कसैको अबमूल्यन नगर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । राष्ट्रिय महत्वका मुद्दाहरुमा ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुले मात्र बसेर निर्णय गर्ने गरेकोमा उनले आपत्ति जनाए । ३ दल र ३ दलका नेताले गरेका निर्णय आफूहरुलाई मान्य नहुने उनले चेतावनी समेत दिए । उनले कोही कसैको निर्णयको भारी बोकेर हिँड्न तयार नभएको भन्दै राष्ट्रिय विषयमा आफुहरुलाई समावेश गराउँनै पर्ने बताए । उनले आफूहरुले राष्ट्रियताको विषय उठाएर संसद अवरुद्ध गर्दा मिटर ब्याज पीडितलाई न्याय दिने अध्यादेश पारित हुन दिएनन् भन्ने गलत आरोप लगाएको समेत जिकिर गरे ।
प्रचण्ड भन्छन्– समाजवादउन्मुख राज्य निर्माणको संकल्प गरिसक्यौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताएका छन् । पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्य निर्माणको संकल्प गरेको समेत बताएका छन् । सिर्जनाहरू समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा उनको जोड छ । समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत स्रष्टाहरूबाट महत्वपूर्ण योगदान हुने उनले बताए । राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनाशिलताले देशको सर्वोपरी विकास समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत गर्ने उनको भनाई छ । उनले नेपालको राजनीतिक आन्दोलन मात्र नभइ सिंगो देशको आन्दोलनमा समेत श्रष्टाको विशिष्ट योगदान रहेकाले उनीहरुको उच्च सम्मान सधैं रहने बताए ।
संसद भवन द्रुत गतिमा बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी नयाँ संसद भवन निर्माण कार्य अघि बढाउन निर्देशन दिएका छन् । सिंहदरबार परिसरमा निर्माणाधिन संसद भवनको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । संसद भवन आधुनिक र सुविधा सम्पन्न बन्नु देशको गौरवको कुरा भएको उनले बताए । भवन निर्माणमा कुनै पनि गलत कुरामा सम्झौता नगर्न आग्रह गर्दै उनले भवन निर्माणका क्रममा आइपर्ने समस्याहरुको समाधान गर्न सरकारको सहयोग हुने प्रतिबद्धता जनाए । त्यसैगरी, शहरी विकास मन्त्री सिता गुरुङलेले भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्नका लागि श्रमिकहरुको संख्या बढाउन निर्माण व्यवसायीहरुलाई आग्रह गरिन् । कहीँ कतै नीतिगत अप्ठ्यारो परेको खण्डमा गाँठो फुकाउनका लागि सरकार तयार रहेको उनले बताइन् ।
गोर्खा भर्तीबारे अझै भएन निर्णय, उपयुक्त समय कहिले ?
परराष्ट्रमन्त्री एनपी साउदले गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन् । उनले यस विषयमा सर्वसहमति आवश्यक हुने समेत बताए । भारतीय कानुनमा परिवर्तन भएपछि गोर्खा भर्ती रोकिएको भन्दै उनले त्यसपछि भर्ती खुलाउन औपचारिक कूटनीतिक पहल नभएको जानकारी समेत दिए । भारतको ‘अग्निपथ’ योजना अनुसारको गोर्खा भर्तीमा नेपालले असहमति जनाएपछि गत अगस्त महिनाको अन्त्यमा भर्ना छनोटको काम अनिश्चितकालका लागि स्थगित गरिएको थियो । भर्ना लिइएका युवामध्ये निश्चित प्रतिशतलाई मात्र चार वर्षपछि भारतीय सेनामा स्थायी पदस्थापन गरिने र अरूलाई निश्चित रकम दिएर घर फिर्ता पठाइने नीति भारत सरकारले अवलम्बन गर्ने निर्णय गरेपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अग्निपथ योजना अनुसारको गोर्खा भर्ती स्थगित गरेको थियो । यसैगरि, परराष्ट्रमन्त्री साउदले करिब ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको समेत जानकारी दिएका छन् । मन्त्रिपरिषदले ५ वर्षका लागि पुग्ने गरी ६० लाख हाराहारी पासपोर्ट छपाइ गर्ने निर्णय गरेको समेत उनले जानकारी गराए । यस्तै, उनले राजदूत नियुक्ति प्रक्रिया पनि छिट्टै अघि बढ्ने संसदीय समितिमा जानकारी दिएका छन् ।
प्रचण्डको नेतृत्वमा समाजवादको बाटो : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताएका छन् । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? भन्नेकुराको अध्ययन गर्न आवश्यक रहेको उनको भनाई छ। उनले नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैँले गर्नुपर्ने समेत बताए । नेपाली समाजलाई समाजवादमा पु¥याउने काम अहिलेको नेतृत्वले गर्नुपर्ने भन्दै उनले भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो शुरु हुने र सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा शुरु भइसकेको बताए ।
माधव नेपालको स्मरणमा पुष्पलाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तीमा पु¥याउन आवश्यक रहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । कम्युनिष्ट आन्दोलनको जन्मदाता, शुरुवातकर्ता, संस्थापक मात्रै नभइ पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व भएको समेत उनले बताए । काँग्रेस र कम्युनिष्ट नमिलेसम्म निरंकुश सत्तालाई फाल्न सकिँदैन भन्नेकुरा पुष्पलालले धेरै पहिला भने अनुसार नै पछि आएर पञ्चायती व्यवस्था ढालेको भन्दै माधवले वर्तमान अवस्थामा पनि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । समाज परिवर्तन र विकासकालागि एकताबद्ध यात्रा महत्वपूर्ण हुने र यसले छिटो परिणाम दिने उनको भनाई छ ।
पार्किङ माग्दै वकिलहरु नै आन्दोलनमा
काठमाडौं जिल्ला अदालत भित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरुले आन्दोलन गरेका छन् । बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानून व्यवसायी र सेवाग्राहीहरुलाई पार्किङ गर्न नदिइएको भन्दै सोमबार कानून व्यवसायीहरु आन्दोलित भएका हुन् । कानून व्यवसायीले अदालत प्रशासनलाई आम सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न ज्ञापनपत्र समेत बुझाएको छ । अदालतले भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने हुँदा आम सर्वसाधारण समस्यामा परिरहेका छन् । यस समस्याको समाधान गर्न उनीहरुको माग छ । आन्दोलनबारे सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले पार्किङस्थलमा क्यान्टिन सञ्चालन गरिएकाले त्यो क्यान्टिन हटाएर पार्किङ गर्न दिइनुपर्ने माग गरे । अधिवक्ताहरुले अदालतभित्रको पार्किङ खुलाउनका लागि पटक पटक आग्रह गर्दा पनि अदालतले नसुनेको बताए । काठमाडौं जिल्ला अदालतले पार्किङस्थलमा क्यान्टीन बनाइ भाडा असुली गर्दै आएको छ ।
सट्टेबाजी आरोपमा कलाकारहरुविरुद्ध ६५ करोड बिगो दाबी
सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरु विरुद्ध अभियोग पत्र दर्ता भएको छ । मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको हो । यस्तै, दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ । यो मुद्दामा एक जना भने फरार रहेका छन् । उनीहरुविरुद्ध वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोप छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । उक्त ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ । त्यस्तै विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जनाएको छ । त्यस्तै एकीकृत कसुरबापत थप सजाय पनि माग गरिएको छ ।




