
काठमाडौँ । रोल्पाको त्रिवेणी गाउँपालिका– २ मा रहेको नुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडका पदाधिकारी र सदस्य फरार नभएकाे दाबी गर्दै सहकारीले अघिल्लाे समाचारकाे खण्डन गरेकाे छ । एक निर्माण व्यवसायीले पाउनुपर्ने रकम नदिई उक्त संस्थाका पदाधिकारी र सदस्य फरार भएको भन्ने व्यहोराको समाचारप्रति सहकारी संस्थाले आपत्ति जनाउँदै ध्यानाकर्षण समेत गराएको छ ।
यही असार २६ गते यस न्युज २४ नेपालको अनलाइन संस्करणमा प्रकाशित ‘सहकारीको डेढ करोड रकम लिएर पदाधिकारी फरार’ भन्ने शीर्षककाे समाचारप्रति नुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडले खण्डन गर्दै ध्यानाकर्षण भएको जनाएकाे हाे ।
निज सहकारी संस्थाले सहकारीका पदाधिकारीहरु सम्पर्कविहीन नभएको र समाचार आफूहरुलाई नसोधी लेखिएको दाबी गरेकाे छ । साथै त्रिवेणी गाउँपालिका- २ को वडा कार्यालयले साे सहकारीका पदाधिकारीहरु फरार नभएको पुष्टि गर्दै सहकारीको कार्यालय यथास्थानमा सञ्चालन भइरहेको जानकारी दिएको छ ।
लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले शित भण्डार निर्माणका लागि लगाएको ठेक्का मार्फत मन्त्रालयबाट सहकारीको खातामा गएको रु १ करोड ६१ लाख रकम लिएर सम्बन्धित ठेक्का (निर्माण) व्यवसायी भैरहवामा रहेको माछापुच्छ्रे रेफ्रिजेशन एण्ड एसी पार्ट्सले नपाएको र उक्त रकम नदिएर सहकारीका पदाधिकारीहरु सम्पर्कविहीन भएको भन्ने व्यहोराको आधारमा अघिल्लो समाचार प्रकाशन भएको थियो । उक्त लेनदेनको रकमबारे भने सहकारीले विज्ञप्तीमा केही पनि खुलाएको छैन । उक्त समाचार अपुष्ट र एकपक्षीय रहेकाे भन्ने गुनासाे सहकारी संस्थामार्फत आएकोले अघिल्लाे समाचार यस अनलाइनबाट हटाइएकाे छ ।
नुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेड र माछापुच्छ्रे रेफ्रिजेशन एण्ड एसी पार्ट्सबीच ५ सय मेट्रिक टन क्षमताको शितभण्डार निर्माण गर्ने सम्झौता भएको र सो वापत निर्माण कम्पनीलाई रु १ करोड ६१ लाख रकम भुत्तानी गर्नु पर्नेमा भुक्तानी नभएको भन्दै निर्माण कम्पनीका सञ्चालक हरि प्रसाद अधिकारीले गुनासो गरेपछि समाचार सम्प्रेषण गरिएको थियो ।