
- प्रकाश न्यौपाने
रुपन्देही । कुनै समय आयातित माछामा भरपर्ने रूपन्देही अहिले माछापालनमा देशमै नमूना बनेको छ । परम्परागत खेती गर्ने किसान अभियानमुखी माछा पालनमा लागेपछि रुपन्देही माछापालनमा नमूना बनेको हो ।
यसबाट किसानले मनग्य आम्दानी गर्नुको साथै जिल्ला माछामा आत्मनिर्भर बनेको छ । माछापालनमा लागेका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माछा सुपरजोनले थप सहयोग गरिरहेको छ ।
जसले गर्दा किसान व्यवसायिक माछापालनमा आकर्षित भएका छन् । उत्पादन र उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७३\०७४ देखि रूपन्देहीमा ७ सय २५ हेक्टर क्षेत्रफलबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत माछा जोन सुरु भयो ।
नयाँ परियोजना भएकाले सुरुमा धेरै किसान उत्साहित भएनन् । परियोजनाबारे बुझ्दै गएपछि किसान परम्परागत खेती छाडेर व्यवसायिक माछापालनमा लागे ।
परियोजना सफल बन्दै गएपछि अहिले रूपन्देहीमा माछा जोनबाट माछा सुपर जोन सुरु भएको छ । परियोजनाबाट अनुदान पाइने तथा थोरै मिहिनत र छोटो समयमै राम्रो आम्दानी हुने भएकाले किसान व्यवसायिक माछा पालनमा आकर्षित भएका हुन् । अहिले बुटवल उपमहानगरपालिकाका ४४ वडामा माछा सुपर जोन कार्यक्रम लागू भएको छ ।
सुपरजोन क्षेत्रका १ हजार ११५ हेक्टर क्षेत्रफलमा खनिएका ३ हजार ५ सय बढी पोखरीमा माछापालन गरिएको छ । सुपरजोन क्षेत्रमा वार्षिक ७ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।
उत्पादन र उत्पादकत्व बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले पोखरी खन्न र मर्मत गर्न, दाना बनाउन, यान्त्रिकरणसँगै किसानलाई अनुदान र व्यवसायिक तथा प्राविधिक तालिम दिने काम गरिरहेको छ ।
सुपरजोन कार्यक्रममार्फत प्रत्यक्षरूपमा ४५० कृषक समूह, कृषि सहकारी संस्था, जल उपभोक्ता समिति तथा निजी उद्यमसहितका १ हजार ६२७ कृषक परिवार लाभान्वित छन् ।
यस्तै जिल्लाका विभिन्न ठाउँमा ३ दर्जन बढी जिउँदो माछा पसल, दाना उद्योग र मत्स्य प्रशोधन केन्द्र सञ्चालित छन् । किसानहरू अन्य परम्परागत खेतीपातीलाई छाडेर माछा पालनमा लागेका छन् । माछापालनमा सामान्य किसानदेखि उच्चस्तरका व्यवसायीसमेत सहभागी छन् ।