गण्डकीमा रासायनिक मल मौज्दात
गण्डकी प्रदेशले यस किसानलाई आवश्यक पर्ने रासायनिक मल मौज्दात रहेको जनाएको छ । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई यस वर्ष भने मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड पोखराले जनाएको छ । यस्तै, कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालयका अनुसार हाल कम्पनीमा डिएपी २१ टन र युरिया पाँच टन मल गोदाममा रहेको छ । थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव हुने छैन । गण्डकीमा एक वर्षमा मात्रै पाँच हजार टन युरिया, तीन हजार टन डिएपी र पाँच सय टन पोटास मल आवश्यक पर्ने कृषि सामग्री कम्पनीको भनाई छ ।
इन्टरनेटबाटै हिमालय एयरको टिकट
हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन (आइ.बि.ई) सेवा सुरु गरेको छ । जसको माध्यमबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट नै आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्ने छन् । उक्त सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि ई–सेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिने कम्पनिको दाबी छ । यात्रुहरूले विमानस्थलमा समय बचत गर्नका निम्ति अनलाइन चेक–इन पनि गर्न सक्ने कम्पनीले बताएको छ । हिमालय एयरलाइन्समा नेपाल–चीनको संयुक्त लगानी रहेको छ ।
नेपालका नर्सिङ कलेजहरु बन्द अवस्थामा
नर्सिङ कलेज सञ्चालनको पछिल्लो मापदण्डबारे राष्ट्रिय सभामा विषय प्रवेश भएको छ । सरकारले चिकित्सा शिक्षा ऐनमा ४० सिटको नर्सिङ कलेज सञ्चालन गर्न १०० बेडको अनिवार्य अस्पताल हुनुपर्ने व्यवस्था गरेपछि नेपालमा नर्सिङ कलेजहरु धमाधम बन्द हुने क्रममा पुगेको भन्दै सांसदले राष्ट्रिय सभामा ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाकी सदस्य इन्दु कडरियाले शून्य समयमा बोल्दै नेपालका नर्सिङ कलेजहरु बन्द गरी विद्यार्थीहरु बाहिर पढ्न जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्। यस्तै, स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले अर्को नीति नबनाएसम्म नर्सिङ कलेजका समस्याहरु समाधान गर्न गाह्रो हुने बताएका छन् । नेपालको बोर्डरमा नेपाली विद्यार्थीलाई लक्षित गरी नर्सिङ कलेज खुलेका छन् । नेपालमा ७३ वटा नर्सिङ कलेज बन्द हुँदा नेपाल सीमावर्ती भारतीय शहरहरुमा १६३ वटा नर्सिङ कलेज खुलेका छन् ।
नेपालको युक्रेनसँग १६ अर्ब भन्दाबढी व्यापार घाटा
नेपालले करिब १६ अर्ब रुपैयाँ भन्दा बढि युक्रेनसँगको व्यापार घाटा बेहोरेको छ । चालू आर्थिक वर्ष २०७९÷८० को ११ जेष्ठ मसान्तसम्ममा १६ अर्ब १ करोड ३७ लाख रुपैयाँ बराबरको व्यापार घाटा नेपाललाई भएको छ । युक्रेनबाट नेपालमा मुख्य तोरी, भटमास र सूर्यमुखीको तेल आयात हुँदै आएको छ । युक्रेनको पछिल्लो समय रुससँगको युद्धका कारण नेपाल–युक्रेन व्यापारमा केही असर परेको देखिन्छ । भन्सार विभागकाअनुसार गत आर्थिक वर्षको यही अवधिमा नेपालले युक्रेनसँगको व्यापारमा २० अर्ब ८१ करोड ३६ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ११ महिनामा ४ अर्ब रुपैयाँ बराबरको घाटा न्यूनीकरण भएको छ ।
ब्रोइलर कुखुराको मूल्य घट्दै
पछिल्लो समय काठमाडौ आसपासमा ब्रोइलर कुखुराको मासुको मूल्य घट्दै गएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार पछिल्लो तीन दिनमा जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घटेको छ । उक्त मूल्य काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रको भएको संघको दाबी छ । मूल्य घटेपछि ब्रोइलर कुखुराको मासुको मूल्य २९० रुपैयाँ कायम भएको संघको भनाई छ । यसअघि कोल्ड स्टोर मूल्य ३१० रुपैयाँसम्म पुगेको थियो । ब्रोइलरको कोल्ड स्टोर मूल्य घटेसँगै अब तयारी कुखुराको मासुको मूल्य पनि घट्ने संघले जनाएको छ । जिउँदो कुखुराको उत्पादन बढेको र भारतबाट पनि अवैध मात्रामा कुखुरा भित्रिएका कारण मूल्य घटेको संघको दाबी छ ।