पोखरा । पोखराका राजन गोदारले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी चुनावको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
इक्यानलाई दलको छायाबाट मुक्त गराउन, संघले हिंड्नुपर्ने बाटो र गन्तव्य पहिल्याउन करिअर कोच गोदारले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
पोखरा र काठमाडौंमा २ दशकदेखि शैक्षिक परामर्शदाता र करिअर कोचरूपमा क्रियाशील उनी अलाइट ग्रुप अफ कन्सल्ट्यान्टका सञ्चालक हुन् । नेतृत्वले इक्यानलाई सही मार्गदर्शन गर्न असफल भएको आरोप लगाउँदै उनले विभिन्न योजनासहितका प्रतिज्ञापत्र लिएर मैदानमा होमिएका हुन्।
संघलाई सुशासनयुक्त, पारदर्शी, जवाफदेही र गतिशील बनाएर गन्तव्य पहिचान गर्न नेतृत्व उदार हुनुपर्ने उनको जोड छ । सदस्यको समान सहभागिता, क्रियाशीलता र सिर्जनशीलतासँगै समान अवसरका लागि आवाज उठाउन ढिला भएकाले पेचिलो मुद्दासहित इक्यानको चुनावी मैदानमा होमिएको उनले बताए ।
शनिबार हुने अधिवेशनमा ३ उपाध्यक्ष पदमा गोदारसहित १० जनाले उम्मेदवारी दिएका छन् ।