
काठमाडौं । तीन वर्षअघिदेखि पूर्वी नेपालबाट गाईभैंसीमा शुरु भएको लम्पी स्किन रोगको संक्रमण अहिले ७७ वटै जिल्लामा देखिएको छ ।
केही दिनअघिसम्म संक्रमण नदेखिएको मनाङमा समेत यो संक्रमण देखिएको छ । देशैभर संक्रमणको महामारी हुँदा पनि सरकारले संक्रमण नियन्त्रण गर्न सकिरहेको छ ।
संघीय संसदमा पटक पटक सांसदहरुले यो विषय उठाए पनि सरकारले वेवास्ता गरेपछि सभामुखले नै रुलिङ गरेका छन् ।
तीन वर्षअघि पूर्वी नेपालको मोरङस्थित सुन्दरहरैंचा नगरपालिकामा पहिलो पटक गाईभैंसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको थियो । तर संक्रमण देखिने वित्तिकै रोग नियन्त्रणका लागि सरकारले गम्भीरता देखाएन ।
यसको एकपछि अर्को ठाउँमा गरी फैलिँदै गयो । केही दिनअघिसम्म ७६ जिल्लामा देखिएको यो संक्रमण अहिले मनाङमा समेत देखिएको छ ।
संक्रमणबाट सबैभन्दा झण्डै २७ हजार गाईभैंसी मरिसकेका छन् । सबैभन्दा बढी सुदूरपश्चिममा २ लाख बढी पशु संक्रमित हुँदा २६ हजार ९ सय भन्दा बढी मरिसकेका छन् ।
संक्रमणले महामारीको रुप लिँदा पनि सरकार गम्भीर नभएको भन्दै किसानहरु नै पशुसेवा विभाग घेराउ गर्न आएपछि संसदहरुले गम्भीर रुपले यो विषय उठाएका छन् ।
यसअघि सून्य समय आ–आफ्ना क्षेत्रमा देखिएको संक्रमणबारे सांसदहरुले ध्यानाकर्षण गराएका थिए ।
प्रमुख विपक्षी नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तर गरेर भए पनि औषधि र खोप उपलब्ध गराउन तथा किसानलाई रातह उपलब्ध गराउन आग्रह गरे ।
विपक्षी दलका सांसदहरुले मात्र होइन, सत्तारुढ दलकै सांसदहरुले पनि पटक पटक महामारी नियन्त्रण गर्न सरकारले विशेष योजना ल्याउनुपर्ने बताएका छन् ।
पशु स्वास्थ्य आपतकाल घोषणा गरी ठोस कदम चाल्नुपर्ने सुझाव सांसदहरुको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पशुस्वास्थ्य आपतकाल महशुस गरी सबैलाई केन्द्रित गर्न, बजेटको ब्यवस्था गर्न, खोपको आयात र गाउँगाउँमा पशु चिकित्सक टोली खटाउन सुझाव दिएका छन् ।
देशैभरका गाइभैंसीमा महामारी फैलिएको भन्दै सांसदहरुले शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष रुपमा विषय उठाएपछि सभामुख देवराज घिमिरेले संक्रमणबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।
लम्पी स्किन रोगले देशभरीबाट २७ हजार बढी गाईभैंसी मरेका छन् । पशु सेवा विभागले दिएको तथ्यांकअनुसार सुदूरपश्चिममा १० हजार ९ सय ३९ गाईभैंसी मरेका छन् भने कर्णाली प्रदेशमा ६ हजार ७ सय ४१, कोशीमा ४ हजार ३ सय ९१ गाईंभैंसी लम्पी स्किन रोगले मरेका छन् ।
मधेस प्रदेशमा यो संक्रमण कम देखिएको छ । अहिलेसम्म मधेसमा ५ हजार ८८ पशु संक्रमित हुँदा १ सय १ वटा पशु मरेका छन् ।
यो संक्रमणले महामारीकै रुप लिँदा विमा कम्पनीहरुले प्रभावित क्षेत्रमा पशुको विमासमेत गर्न मानेका छैनन् ।
तीन वर्षअघिदेखि फैलिएको संक्रमणप्रति सरकार गम्भीर नहुँदा गाईभैंसीमा यो रोगको महामारीकै रुप लिएको छ ।
त्यसैले गाई भैंसीमा देखिएको यो संक्रमण तत्काल रोक्ने योजना ल्याउनुका साथै संक्रमणबाट क्षति पुगेका किसानलाई उचित राहतको प्याकेज पनि तत्काल घोषणा गर्न जरुरी छ ।