
रोल्पा । रोल्पाको होलेरी बजारमा कृषि हाट बजार संकलन केन्द्र सुरु भएको छ। शनिबार एक कार्यक्रमका बिच हाट बजार सञ्चालक समितिले औपचारिक रूपमा हाट बजार शुरु गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि रुन्टिगढि गाउँपालिकाका अध्यक्ष जनक पुनले रिबन काटेर हाट बजारको उद्घाटन गरेका हुन्। उनले हाट बजार शुरु तथा संचालन गर्नका लागि गाउँपालिकाले ठुलो पहल र आर्थिक सहयोग गरेको बताए ।
गाउँपालिका अध्यक्ष पुनले र केही साझेदारी संस्थाहरुको आर्थिक सहयोगमा अत्यावश्यक केही पुर्बाधारहरुको निर्माण भएसँगै हाट बजार सुरु भएको र दीर्घकालीन रूपमा सञ्चालन तथा संरक्षण गर्नका लागि पालिकाले आवश्यक सहयोग गर्ने पनि बताए । पालिकालाइ समृद्ध र सुखी बनाउनका लागि सबैभन्दा पहिले गरिब-निमुखा किसानहरुको जीवनस्तर माथि उठाउन र त्यसका लागि किसानहरुलाई कृषि औजार तथा बिउपलहरु ५०% अनुदानमा पालिकाले उपलब्ध गराउँदै आएको उनकाे भनाइ छ । भविस्यमा कृषि बालीको बीमा तथा थप सुविधा दिने पालिकाको कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।
हाट बजार संकलन केन्द्र सुरु भएसँगै संकलन केन्द्रमा बाह्य जिल्लाका ठुला व्यापारीहरु आउने र तरकारीहरु खरिद गर्ने हुँदा किसानहरुले तरकारीको उचित मूल्य पाउनुका साथै बर्सौंदेखि बिचौलिया बाट ठगिनु पर्ने समस्याबाट छुटकारा पाउने सञ्चालक समितिका अध्यक्ष चन्द्र बहादुर महराले बताए ।
हप्तामा दुईपटक शनिबार र बुधबार हाट बजार लाग्ने र सो समयमा पालिकाभित्र र बाहिरका किसानहरुलाई उत्पादन गरेका कृषि उपजका वस्तुहरु संकलन केन्द्रसम्म ल्याउनका लागि सञ्चालक समितिले स-शुल्क तरकारी ढुवानी गाडीको व्यवस्था गरेको समितिका सचिव माधव रेउलेले बताए ।
विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरु र किसानहरुको सहभागीता रहेको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बजार व्यवसायी लगायत व्यक्तिहरुले मन्तव्य राखेका थिए ।
रुन्टिगढि गाउँपालिकाको १० लाख रुपैयाँ, डिकोस रोल्पाको समुन्नति परियोजनाको १० लाख रुपैयाँ, रुडास रोल्पाको गोल- दोश्रो परियोजनाको ८ लाख रुपैयाँ, रुडास रोल्पाको परक्याप परियोजनाको ३ लाख रुपैयाँ र उपभोक्ताको ३ लाख ९९ हजार ३२५ रुपैयाँको जनश्रम गरी जम्मा चौँतिस लाख उनान्सय हजार तीन सय पच्चीस रुपैयामा निर्माण भएको संकलन केन्द्रबाट चार सय पच्चीस घरधुरी किसानहरु लाभान्वित हुने बताइएको छ।