खोटाङमा असार सकिँदासम्म ३३.५ प्रतिशत मात्र रोपाइँ

खोटाङमा असार सकिँदासम्म ३३.५ प्रतिशत मात्र रोपाइँ

दिनराज कार्की

खाेटाङ । कृषी ज्ञान केन्द्र खोटाङले असार मसान्त सम्म ३३.५ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको जनाएको छ । यो गत वर्षको तुलनामा थोरै हो । गत बर्ष असार २९ सम्म ५८ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो ।

जिल्लाभर गत आर्थिक बर्ष २०७८/२०७९ को अनुसार असार मसान्त सम्म ५८ प्रतिश रोपाइँ भएको थियो । यो आर्थिक बर्षमा २०७९/२०८० को असार मसान्तसम्म ३३.५ प्रतिशत ४ हजार ३२० हेक्टरमा क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्षको तुलनामा असार सम्म २४.५ प्रतिशत रोपाइँ कम भएको हो ।

जिल्ला भर १२ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ । अझै कम्तीमा धान रोपाइँ साउन मसान्त सम्म हुने गरेको छ । आकाशे पानीको भरमा खेती गर्नु पर्ने कारण जिल्लाका कतिपय ठाउँमा मकै उठाएर रोपाइँ गर्ने कारणले यस बर्षको रोपाइँ ढिला भएको छ तैपनी रोपाइँ ढिला हुँदा धान उत्पादनमा कमी आउने जोखिम हुन्छ । अर्को तिर यो बर्ष महामारी रुपमा देखा परेको लप्पी स्किन रोगका कारण धान रोपाइँ प्रभावित हुन पुगेको छ । लम्पी स्किन रोगका कारण खेत जोत्ने गोरु बिरामी हुँदा खेत रोपाइँ प्रभावित भएको कृषी ज्ञान केन्द्रले बताएको छ ।

दश स्थानीय तहको रोपाइँ अवस्था

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३० प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा २५ प्रतिशत, केपिलासगढी गाउँपालिकामा ३० प्रतिशत, ऐँसेलुखर्कमा गाउँपालिकामा २० प्रतिशत, साकेला गाउँपालिकामा ४० प्रतिशत दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६० प्रतिशत राेपाइँ सम्पन्न भएकाे छ । यस्तै खोटेहाङ गाउँपालिकामा ५० प्रतिशा, जन्तेढुंगामा ४० प्रतिशत, बराहपोखरी गाउँपालिकामा २० प्रतिशत र रावावेसी गाउँपालिकामा १५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

खोटाङ जिल्लामा विभिन्न किसिमका प्रजातिका धान रोपिन्छ । खुमल ४, ८,१०,अटेमार्सी, भोटाङ्गे, ताईचुङ, मकवानपुरे, रन्जित, च्यानम्पियन हाईब्रिड, युएस ३१२, सुख्खा २ प्रजातिका धान रोपाइँ हुने गरेको छ ।

गाउँबाट बसाइँसराइँ गरेर शहरमा जानु काम गर्न सक्ने जनशक्ति वैदेशिक रोजगारीमा रहनु र पहिलाजस्तै धेरै सन्तान नजन्माउनु लगायतका कारण खेती कार्य गर्ने जनशक्ति समेत अभाव भएकाे छ। साथै अर्मपर्म गर्ने प्रचलन पनि घट्दो छ । पातलिँदै गएको ग्रामीण क्षेत्रका परिवारमा काम गर्न सक्ने जनशक्ति नहुनु, काम गर्ने सक्रिय उमेरका समुहका युवाहरु आन्तिरक तथा बाह्य रोजगारीका लागि घर छाडेर हिँडनुपर्ने बाध्यका कारण ग्रामीण क्षेत्रको खेतीपातीको वेला समस्या हुने गरेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *