
- सितल रिजाल
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक झन्डै एक वर्षपछि मंगलबार बस्दै छ । विधान अनुसार प्रत्यक २–२ महिनामा बस्नुपर्ने बैठक एक बर्षपछि बस्न लागेको हो । यस्तोमा सोमबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने तयारी गरेको छ । तर झण्डै १ वर्षपछि बस्न लागेको लागेको केन्द्रीय समिति बैठकको ठोस एजेण्डा भने पदाधिकारी बैठकले तय गर्न सकेन । यद्यपि पार्टी आन्तरिक बैठकको प्रत्यक्ष प्रशारण गर्ने प्रस्तावसँगै कांग्रेसमा नयाँ अभ्यासको थालनी हुने भएको छ ।
पछिल्लो समय नेपाली कांग्रेसभित्र आन्तरिक संघर्ष निकै उत्कर्षमा छ । कांग्रेस महामन्त्रीद्वय पार्टी नेतृत्वसँगको छलफलविना नै गतिविधि गर्दै आएका छन् । महामन्त्री गगन थापाले पार्टी नेतृत्वकै विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् भने । संसदीय दलको नेता पनि परिवर्तन गर्नुपर्ने प्रस्ताव राखिरहेका छन् । कांग्रेसका एकथरी युवा नेताहरु आफूखुशी देशब्यापी रुपमा पार्टी रुपान्तरण अभियान चलाइरहेका छन् । कांग्रेसमा पार्टी संस्थापन पक्षविरुद्ध इतर पक्षले दवाव दिने नीति अख्तियार गरिरहँदा पार्टी सभापति शेरबहादुर देवावाले नै पार्टी आन्तरिक बैठक खुल्ला रुपमा गर्ने प्रस्ताव ल्याएका छन् । उनले सोमबार पदाधिकारी वैठकमा केन्द्रीय कार्यसमितिको आन्तरिक बैठकको प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव अघि सारेपछि कांग्रेस इतर पक्षका नेताहरुलाई झस्काइदिएको छ । बैठक लाईभ गर्ने वा नगर्ने भन्ने बिषयमा कांग्रेस पदाधिकारी बैठकले ठोस निर्णय भने गरिसकेको छैन ।
झन्डै एक बर्षपछि बस्न लागेको केन्द्रिय समितिको बैठकका लागि विभिन्न १० एजेन्डा पनि तय गरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए । केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार पारेको प्रतिवेदन पेश गर्ने, नीति महाधिवेशनसम्बन्धी खाका प्रस्ताव गर्ने, सांगठनिक कार्ययोजनाबारे छलफल गर्ने, विभागहरु गठन गर्ने, राष्ट्रव्यापी अभियानको घोषणा, केन्द्रिय समितिको अनुशासन समितिको प्रतिवेदन पेश, संसदीय दलको समिक्षा, सरकार प्रगतिबारे छलफल र समीक्षा हुने महामन्त्री शर्माको भनाई छ ।
केन्द्रिय समितिको बैठकका लागि विभिन्न एजेन्डाहरु तय भएपनि नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेको देउवा निकटस्थ पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बिषयमा भने पदाधिकारी बैठकमा छलफलसम्म हुन सकेन । पार्टीभित्रै निकै लामो समयदेखि खाँणलाई निलम्बन गर्नुपर्ने माग जोडतोडले उठिरहेको भएपनि छलफलमा यस बिषयले प्रवेश नै नपाउनुलाई भने शंकाको दृष्टिले हेरिएको छ । तर इतर पक्षले यो विषयलाई पनि एजेण्डा बनाउने तयारी गरेको छ ।