
काठमाडौं । नेपाली कांग्रेसको झण्डै एक वर्षको रिक्ततापछि मंगलबारदेखि केन्द्रीय समितिको बैठक शुरु भएको छ ।
संघ र प्रदेशको निर्वाचन सम्पन्न भएपछि एक पटक पनि केन्द्रीय समिति बैठक बस्न नसक्दा पार्टी पदाधिकारीबाटै पार्टी नेतृत्वको आलोचना भइरहेको थियो ।
पार्टी भित्रको अन्तसंघर्ष चुलिएकाबेला भएको केन्द्रीय समिति बैठकको कांग्रेसले सामाजिक सामाजिक सञ्जाल फेसबुकबाटै प्रत्यक्ष प्रशारण गरी नयाँ अभ्यासको थालनी गरेको छ ।
मुख्य १० वटा एजेण्डामा केन्द्रित रहेर शुरु बैठकको पहिलो दिन नै सरकार र संसदबारे बहस शुरु भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जे चाहन्छन्, पार्टीमा त्यही हुन्छन् । विरोध गर्नेहरु गरिरहन्छन् ।
अन्ततः चर्को विरोध गर्नेहरु पनि उनको एजेण्डामा लुत्रुक्क भइदिन्छन् । यसको पछिल्लो उदाहारण हो, मंगलबारबाट शुरु भएको केन्द्रीय समिति बैठक ।
मंगलबारदेखि केन्द्रीय समिति बैठक शुरु हुनु भएपछि देउवाले सोमवार नै बैठकको एजेण्डा तय गर्न भन्दै आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका थिए ।
पदाधिकारी बैठकले केन्द्रीय समितिका लागि विभिन्न १० वटा एजेण्डा तय ग¥यो ।
वैठकको एजेण्डाहरु तय भइसक्दा देउवाले आफ्नै चर्को आलोचना हुने देखिएको बैठक नै लाइभ अर्थात प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव ल्याए ।
यसअघि कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले नै खुल्ला रुपमा देउवाको आलोचना गर्दै आएका थिए । देउवाको कार्यशैलीले पार्टी कमजोर बनेको भन्दै थापाले नेतृत्व नै बदल्नुपर्नेसम्मको भाषणबाजी गर्दै आएका थिए ।
देउवालाई पेल्ने इतर पक्षको रणनीतिका बाबजुद देउवाले बैठक लाइभ गर्ने भनी गरेको प्रस्ताव इतर पक्षले इन्कार गर्नै सकेन ।
लाइभ गर्ने निर्णय भइनसकेको नेताहरुले बताए पनि पहिलो दिनको बैठक नै लाइभ गरिदिए ।
पार्टी केन्द्रीय समितिको बैठकको पहिलो दिन नै नेताहरुले सरकार र संसदबारे बहस शुरु भएको छ ।
ठूलो दलको हैसियतमा कांग्रेसले गठबन्धनको सरकारलाई स्थायी र स्थिर बनाउन संसदमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।
संसदमा कांग्रेसको भूमिकाबारे प्रतिवेदन पेश गरेका नेता लेखकले कानून निर्माणको प्रक्रियामा पनि यथेस्ट ध्यान पु¥याउन नसकेको स्वीकार गरेका छन् ।
लेखकले सरकार र संसदको भूमिका कमजोर बनिरहेको भनिरहँदा पार्टीबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन पुनःस्थापित हुनुलाई सफलताको रुपमा ब्याख्या गरे ।
एमाले समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो पटक कांग्रेसले विश्वासको मत दिँदा ढोक्सा थालेको एमाले अध्यक्ष केपी ओलीले आशंका गरेका थिए ।
उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस उपसभापति खड्का पार्टी केन्द्रीय समिति बैठकमा कांग्रेसले राष्ट्रपति पाउने सहमति अनुसार नै प्रचण्डलाई विश्वासको मत दिएको खुलासा गरेका छन् ।
कांग्रेस इतर पक्षले माओवादीसहितको गठबन्धनको पनि विरोध गर्दै आएको छ ।
गठबन्धन बनाएर पार्टी कमजोर बनाएको भन्दै देउवालाई पेल्ने इतर पक्षले रणनीति बनाइरहँदा देउवाको कुशलताले गठबन्धन मात्रै पुनःस्थापित नभएको तथा राष्ट्रपति र सरकारमा सहभागिता भएको संस्थापन पक्षको तर्क छ ।
निकै आलोचनाका बाबजुद ११ महिनापछि बसेको केन्द्रीय समिति बैठकमा इतर पक्षले कस्तो भूमिका खेल्छ, प्रतिक्षाको विषय बनेको छ ।