भीम रावल एमाले बैठकमा झुल्किए, रास्वपामाथि कांग्रेसको संगीन आरोप (न्यूज रफ्तार)

भीम रावल एमाले बैठकमा झुल्किए, रास्वपामाथि कांग्रेसको संगीन आरोप (न्यूज रफ्तार)

काठमाडौं ।  पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भक्कानिदै सीता दाहालले शान्त मृत्यु रोजेको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै प्रचण्डले सीताको स्वास्थ्य अवस्था हेर्दा भयानक मृत्यु त हुने होइन भन्ने आफ्नो र परिवारको मनमा चिसो पसेको तर, त्यस्तो नभएको बताएका छन् ।

पत्नी सीताको श्रद्धाञ्जलीसभामा छोटो बोलेका प्रचण्ड बोल्दा बोल्दै लरबराए । सीताको उपचारमा राज्य कोषबाट कुनै पनि खर्च नलिएको बताएका प्रचण्ड सेतो वस्त्रमा देखिएका थिए ।

उनी जेठी छोरी र छोरा प्रकाश दाहालको मृत्युपछि बौरिनै सकिनन् । छोरा प्रकाशको मृत्युपछि विक्षिप्त बनेकी सीताको ६९ वर्षको उमेरमा गत असार २७ गते निधन भएको थियो ।

भीम रावल एमाले बैठकमा झुल्किए

एमाले अध्यक्ष केपी ओली र पार्टी नेताहरुको चर्को आलोचना गर्दै आएका भीम रावल अन्ततः बैठकमा झुल्किएका छन् ।

एमाले अध्यक्षमा ओलीसँग प्रतिष्पर्धा गरेका रावलले गएको चुनावमा पार्टीको टिकट नै पाएनन् । चुनाव लड्न नपाएका रावल एमालेमै रहेपनि सक्रिय ढंगले काममा खटिएका थिएनन् ।

विद्रोहको चेतावनी दिदै आएका उनी एमालेमै सक्रिय हुन थालेका हुन् ? भन्ने प्रश्न उब्जिएको छ ।

माओवादीबाट एमालेमै रहेका लेखराज भट्ट सुदूरपश्विम प्रदेशको इन्चार्ज भएदेखि नै असन्तुष्ट रावल लेखराजलाई नेता मान्दै अछाममा भएको कार्यकर्ता भेलामा झुल्किएका हुन् ।

पार्टी जिम्मेवारीको हिसावले साधारण सदस्य मात्रै रहेका रावल अब के गर्लान ?

चौतर्फी प्रश्न उठेका छन् । तर, ओली र ओली प्रवृत्तिले पेलेको बताउने रावललाई एमालेमा जिम्मेवारी सुम्पिएला ? चासो बढेको छ ।

कांग्रेसका पूर्वमुख्यमन्त्रीः पद गुमेको ६ महिनापछिसम्म पनि सरकारी गाडीमा सयर

कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीबाट सरकारमा गएकाहरुले काम गर्न नसक्दा क्षति हुने भन्दै बहस चलिरहेकाबेला गण्डकी प्रदेशका पूर्वमुखयमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी गाडी फिर्ता नगरेको पाइएको छ ।

मुख्यमन्त्री हुँदा पाएको सरकारी गाडी, चालक समेत लिएर पार्टीको कामदेखि जताततै हिडिरहेका कृष्णचन्द्रले पार्टी बैठकमा कस्तो विषय उठान गरे होलान् ? प्रश्न उठाउन थालिएको छ ।

आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग. १ झ ६०१ गाडी र सरकारी चालक ६ महिना बितिसक्दा पनि फिर्ता गरेका छैनन् ।

उनी गत पुस २५ गते पदमुक्त भएका थिए । सुशासन, भ्रष्टाचार नियन्त्रण र देशको पक्षमा काम गर्ने बताउने कांग्रेस र उनले कुन नैतिकताको आधारमा सवारी र चालक प्रयोग गरिरहेका छन् ? यो प्रश्न पेचिलो बन्न पुगेको छ ।

तर, उनले आफूले गाडी फिर्ता गर्ने र गाडी फिर्ताका लागि कुनै जानकारी नआएको भन्दै आलटाले जवाफ फर्काएका छन् ।

रास्वपामाथि कांग्रेसको संगीन आरोप

कांग्रेस केन्द्रीय समिति बैठकमा प्रतिपक्षी दलबारे रोचक प्रशंग उठेको छ ।
कांग्रेस केन्द्रीय सदस्य तथा प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्षबारे खरो टिप्पणी गरेका छन् ।

लेखकले एमालेलाई आक्रामक, अधैर्य तर परिपक्क दलको संज्ञा दिएका छन् ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने आक्रामक, अधैर्य र अपरिपक्क दलको रुपमा अथ्र्याएका छन् ।

रास्वपा र राप्रपाले अपरिपक्क व्यवहार देखाइरहेको आरोप लगाएका लेखकले सत्ता गठबन्धन फेरिएको विषयले समेत ती दलहरुले सीमाबाहिर जान खोजेको हुनसक्ने संकेत गरेका छन् ।

यस्तै, उनले संसदको काम कारबाही अघि बढाउन समेत कठिन भइरहेको उनको तर्क छ ।

प्रचण्डलाई विश्वासको मतबारे पूर्णबहादुरले गरे खुलासा

तत्कालीन समयमा एमालेसहितको गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई कांग्रेसले विश्वासको मत किन दियो भन्नेबारे पार्टी उपसभापति पूर्णबहादुर खड्काले विशेष खुलासा गरेका छन् ।

प्रचण्डले कांग्रेसलाई राष्ट्रपतिमा सघाउने वचन दिएपछि पुस २६ गते विश्वासको मत दिएको प्रष्ट पारेका छन् । तर, कांग्रेसले विश्वासको मत दिने विषयमा कुनै आन्तरिक सहमति नभएको प्रचण्डले दाबी गर्दै आएका थिए ।

यता, एमालेले भने कांग्रेसले विश्वासको मत दिएर ढोक्सा थापेको जिकिर गरेको थियो । क्रमश राष्ट्रपतिको चुनावमा आइपुग्दा प्रचण्डले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवारको रुपमा मतदान गर्ने निर्णय गराएका थिए ।

उपसभापति खड्का प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवम् रक्षा मन्त्रीको हैसियतमा छन् । उनै खड्काले यस्तो खुलासा गरेका हुन् ।

ललिता निवास प्रकरणको सुनुवाई बुधबार पनि

ललिता निवासको जग्गा प्रकरणमा सोमबारबाट सुनुवाई शुरु भएको बन्दीप्रत्यक्षीकरणको मुद्दालाई सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

ललिता निवासभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका मीनबहादुर गुरुङ, सुधिरकुमार शाह र सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिको मुद्दा हेर्दाहेर्दैमा परेको हो ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबारदेखि सुनुवाई गरिरहेको छ ।

सर्वोच्चले यसअघि नै आरोपितलाई थुनामा नराख्न आदेश दिएपछि प्रहरीले भ्याकेट निवेदन लिएर सर्वोच्च पुगेको छ । यता, थुनामा रहेकाहरुले आफूलाई गैरकानूनी थुनामा राखेको दाबी गरिरहेका छन् ।

सर्वोच्चको आदेशपछि यो प्रकरणलाई कसरी अनुसन्धान हुन्छ भन्ने विषय थप खुल्नेछ ।

सीटीईभीटीको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्छुः केसी

अर्थतन्त्रमा संकुचन आएकै बेला सीटीईभीटीले शुल्क चर्को रुपमा बढाएको भन्दै डा. गोविन्द केसीले शुल्क नघटाए आन्दोलनको चेतावनी दिएका छन् ।

चर्को मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने दाबी गरेका केसी यसअघि पनि चिकित्सा शिक्षामा सुधार र विभिन्न माग राखेर आन्दोलन गर्दै आएका व्यक्ति हुन् ।

अर्थतन्त्रमा आएको संकुचनका कारण नागरिकहरु समस्यामै परेको बेला सीटीईभीटीले चर्को मूल्यवृद्धि गरेको भन्दै केसीले यस्तो चेतावनी दिएका हुन् ।

एकै वर्षमा २५–३० प्रतिशत शुल्क बढ्दा त्यसले विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने निश्चित भएको उनको ठहर छ ।

सीटीईभीटीले केहिदिन पहिले मात्रै शूल्क वृद्धि गरेको सूचना जारी गरेको थियो ।

कुर्सीमै मृत भेटिए कृषिका हाकिम !

बाजुरामा कुर्सीमा बसेको अवस्थामा एक जना कर्मचारी मृत भेटिएका छन् । मृत भेटिनेमा बूढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख अन्दाजी ५५ वर्षीय जयलाल दानी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दानी बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आफ्नै सरकारी निवास अगाडि कुर्चीमा बसेको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।

उनलाई सो अवस्थामा देखेपछि नगरपालिकाकै कर्मचारीले दानीका बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

बूढीनन्दा नगरपालिका–७ पाण्डुसैन स्थायी घर भएका दानी नगरपालिकाले निवास प्रयोजनका लागि भाडामा लिएको घरमा बस्दै आएका थिए ।

उनको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जहाजमै अक्सिजन नहुँदा उडान डिले ?

नीजि क्षेत्रका विमान कम्पनीहरुले धमाधम नाफा कमाइरहेको बेला मुश्किलले सञ्चालनमा आइरहेको नेपाल एयरलाइन्समा समस्या देखिन भने छाडेको छैन ।

एक साता ग्राउण्डेड भएर सञ्चालनमा आएको विमानको ककपीटमा अक्सिजनको लेभल कम भएको भन्दै मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडान नै डिले गरेको नेपाल वायु सेवा निगमको जहाज ९ एन–एकेडब्लूबारे छानविन गर्न निर्देशक महेश मरिताको संयोजकत्वमा छानबिन उपसमिति गठन गरेको छ ।

सोमबार बेलुका ८ बजे १५८ जना यात्रु बोकेर मलेसिया उडेको वायु सेवा निगम ९एन–एकेडब्लू जहाज मंगलबार काठमाडौँ फर्किने बेला ककपिटमा अक्सिजनको लेभल कम भएसँगै उडान सेड्युल प्रभावित हुन पुगेको थियो ।

जहाज १७६ यात्रुसहित बिहान ९ः१० बजे क्वालालम्पुरबाट काठमाडौँका लागि उड्ने तालिका रहेपनि जहाज उडेन् । त्यसपछि अक्सिजनको जोहो गरेर विमान काठमाडौं आएको छ । तर, निगमका विमानमा यस्तो किन भइरहन्छ भन्ने विषयमा छानविनले केहि पत्ता लगाउला कि भन्ने अपेक्षा भने जिवित राखिदिएको छ ।

कुकुर पाल्न नगरपालिकामा दर्ता गर्नैपर्ने

कुकुर पाल्ने शोख भएका मानिसहरु थुप्रै हुन्छन् । घरमा कुकुर पाल्नेहरुको संख्यामा कुनै कमी छैन । तर, अब यहि कुकुर पाल्न नगरपालिकामा दर्ता गर्नुपर्ने नियम लागू भएको छ ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो ।

छाडा कुकुरको बाटोमा बिगबिगी बढेपछि नगरपालिकाले यस्तो नियम लागू गरेको बताइएको छ ।

दर्ता भएका कुकुरलाई रेविजविरुद्धको खोज, बन्ध्याकरण, औषधी उपचार र परामर्श दिने गरि यस्तो व्यवस्था गरेको हो ।

यसरी दर्ता गर्न दुई सय लाग्नेछ । भने नविकरणका लागि एक सय लाग्नेछ । उसोतः नगरपालिकाले दर्ता भएका कुकुरलाई बेल्ट बाँधिदिनेछ ।

कुकुर धनीले आफ्नो कुकुर पहिचान गर्नेदेखि अन्य प्रयोजनमा सहजता आउने विश्वास गरिएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *