योगदान दिने बस्तु आयातमा गिरावट आउँदा  खुम्चियो भन्सार राजश्व

योगदान दिने बस्तु आयातमा गिरावट आउँदा खुम्चियो भन्सार राजश्व

  • प्रकाश न्यौपाने

भैरहवा । भैरहवा भन्सार कार्यालयको राजश्व संकलनमा खुम्चिएको छ । मुलुकको दोस्रो ठुलो भन्सार भैरहवाले आर्थिक वर्ष २०७९–०८० मा विभागले निर्धारण गरेको राजश्व संकलन लक्ष्य पुरा गर्न सकेन् ।

बेलहिया नाका हुँदै हुने आयात खुम्चिँदा भन्सारले राजश्व संकलन लक्ष्य भेट्टाउन नसकेको हो । भन्सारले तोकिएको भन्दा आधा मात्रै राजश्व संकलन गरेको छ ।

राजश्व संकलनमा योगदान दिने मुख्य वस्तु आयात नै न्यून हुँदा भन्सार कार्यालयको राजश्व संलकनमा ह्वात्तै गिरावट आएको हो ।

भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई १ खर्ब ५५ अर्ब ६० करोड राजश्व संकलन लक्ष्य तोकेको थियो । तर, भन्सार कार्यालयले उक्त लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेन ।

भन्सारले ७६ अर्ब ८९ करोड मात्रै राजश्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा करिब ५१ प्रतिशतले कमी हो ।

भन्सारले अघिल्लो आवमा पनि लक्ष्य भेट्टाउन सकेको थिएन । आब ०७८–०७९ १ मा खर्ब २७ अर्ब लक्ष्य पाएको भन्सारले १ खर्ब १५ अर्ब ८७ करोड राजश्वस संकलन गरेको थियो ।

विगतमै राजश्व संकलन लक्ष्य भेट्टाउन नसकेको भन्सारलाई विभागले पुनः २२ प्रतिशत बढी लक्ष्य बढाइदियो । तर, राजश्व भने लक्ष्यको आधा पनि संकलन हुन सकेन ।

‘एक त राजश्वमा योगदान दिने मुख्य बस्तु आयातमै गिरावट आयो, त्यसैमाथि लक्ष्य पनि अली बढी निर्धारण गरियो, जसले गर्दा पनि असुली लक्ष्य भेट्टाउन सकिएन’, भन्सार प्रमुख मनिराम पौडेल भने ।

मधेश आन्दोलनमा बेला मुलुकभरमा अन्य भन्सार नाका प्रभावित थिए । भैरहवा नाका सहज हुँदा आयातकर्ता आकर्षित भए । जसले गर्दा भन्सार राजश्व असुली ह्वात्तै बढ्यो ।

‘विस्तारै अन्य नाका सहज हुँदा व्यवसायीले पूरानै नाकाबाट आयात गर्न थाले । तर, भैरहवा भन्सारको राजश्व लक्ष्य बृद्धि भइरह्यो भने आयात घट्दै गयो’, उनले भने, ‘सबै किसिमले आयात प्रभावित भयो र राजश्व घटेको हो ।’

भन्सारका अनुसार गत आवमा विगतमा राजश्व संकलनमा मुख्य योगदान दिँदै आएका जिप, कार, भ्यान, मोटरसाइकल, एमएस बिलेट्, जिडेल, मोबाइल जस्ता मुख्य बस्तु आयात आधाले घट्यो । यस्तै, राष्ट्र बैंकले विलासिताका वस्तु आयातमा केही समय एलसी अनिवार्य गर्यो र यसले पनि राजश्व संकलन प्रभावित बन्यो ।

‘त्यसैमाथि ८ महिनासम्म सरकारले जिप, कार, भ्यान र मोबाइल आयातमा प्रतिबन्ध नै लगायो, जसले गर्दा भन्सार राजश्व संकलनमा भारी गिरावट आएको हो’, भन्सार अधिकृत उपेन्द्र लामिछानेले भने । कार्यालयका अनुसार यी वस्तुले मात्रै भन्सार राजश्वमा करिब २५ प्रतिशत योगदान दिँदै आएका छन् ।

सरकारले राजश्वमा योगदान दिने फलामे कच्चा पदार्थ एमएस बिलेट्समा अन्तशुल्क बढाएर लगाउनु र स्पन्ज आइरनमा भन्सार महशुल पूर्ण छुट गर्दा पनि राजश्व प्रभावित भएको छ ।

‘सरकारको नीतिले धेरै मात्रामा आयात भइरहेको एमएस बिलेट्स घट्यो, स्पन्ज आइरन बड्यो तर स्पन्जले राजश्वमा कुनै सहयोग गरेन’, भन्सार प्रमुख पौडेलले भने । भन्सारको तथ्यांक अनुसार राजश्व संकलनमा योगदान दिने मुख्य बस्तु जिप, कार, भ्यानसँगै मोटरसाइकल, ग्लेज टायल, हाइस्पिड डिजेल, इलेक्ट्रिक जिप, कार, भ्यान, मार्बल स्ल्याब, एलपी ग्याँस, मोबाइल, पिकअप तथा डेलिभरी भ्यानबाट अघिल्लो आर्थिक वर्ष भन्दा करिब ३७ अर्ब राजश्व असुलीमा कमी आएको छ ।

मुलुकको समग्र भन्सार राजश्व संकलनमा भैररहवा भन्सारको कार्यालयको योगदान करिब १२ प्रतिशत छ । तर, यसपटक भने राजश्व असुली घट्दा मुलुकको राजश्व लक्ष्यमै प्रभाव परेको छ ।

‘आर्थिक मन्दीको कारण कम आयात हुनु र सरकारको अन्य नीतिगत समस्याका कारण पनि राजश्व असुली खुम्चिन पुगेको हो’, पौडेलले भने ।

यसैगरि, नेपाल राष्ट्र बैंकले धेरै व्यापारिक सामानको आयातमा अनिबार्य एलसी खोल्नु पर्ने प्रावधान बनाउँदा उक्त नियम झन्झटिलो भन्दै व्यवसायीले आयात पनि कम गरेका थिए । यसबाट कपडा, जुत्ता चप्पल, अटो पाट्र्स, ड्राइ फुड्स, चिनी लगायतका व्यापारिक सामानको आयात घट्यो ।

बरु, यि बस्तु अवैध तरिकाबाट भित्रिन थाले । अहले ति सामानको आयातमा अनिबार्य एलसीको उक्त प्रावधान हटे पनि ति बस्तुको आयात भने बढ्न सकेको छैन । आयात नबढ्नुमा आर्थिक मन्दीको प्रभाव पनि मानिएको छ ।

‘तिज लगायतका चाडपर्वका लागि कपडा लगायतका खुद्रा वयापारिक बस्तुको आयात बढ्नु पर्ने हो’, भन्सार प्रमुख पौडेलले भने, ‘तर आयात नबढेकाले भन्सारका यार्ड (गोदाम) खाली नै छन् ।’

अहिले पनि बेलहिया नाका हुँदै हुने आयातमा गिरावट आइरहेको भन्सारले जनाएको छ । भैरहवा भन्सार हुँदै नेपालबाट निर्यात हुने बस्तुमा भने अघिल्लो आवको तुलनामा आव २०७९–०८० मा ३८ दशमलव ८ प्रतिशतले बृद्धि भएको छ ।

तथ्यांक अनुसार, अघिल्लो आवमा ७ अर्ब ८९ करोड रुपैयाँ मूल्यको विभिन्न नेपाली बस्तु बिदेश निकासी भएकोमा २०७९–०८० मा यो निकासी बढेर १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *