
काठमाडौं । स्कुले बालबालिकालाई पार्टीमा प्रवेश गराए जस्तो देखिने भिडियो सार्वजनिक भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि टिकाटिप्पणी सुरु भएको छ ।
सार्वजनिक भएको यो भिडियो गत शनिबार राप्रपा मोरङ क्षेत्र नम्बर ३ (ख) ले विराटचोकमा आयोजना गरेको ‘राप्रपा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम’ हो ।
जुन कार्यक्रममा लिङ्देनले अबिर–खादा लगाएर धेरैलाई राप्रपामा प्रवेश गराएका थिए । दृश्यमा लिङ्देनले दुई नाबालकलाई अबिर–खादा लगाएको देखिन्छ ।
यही दृश्य सार्वजनिक भएसँगै नाबालकलाई पार्टीमा प्रवेश गराएको भन्दै अधयक्ष लिङ्देनसँगै पार्टीको समेत आलोचना भइरहेको छ ।
यसरी अबिर–खादा ग्रहण गर्ने मध्येका एक बालक ९ कक्षामा पढ्छन् । ति बालकलाई भिडियो कैद गर्नेहरुले पार्टी प्रवेश गरेको हो भन्दै प्रश्न गरेका छन् ।
बालकको जवाफ सुन्दा उनी आफ्ना अभिभावकसँग पार्टीको कार्यक्रममा सहभागी भएको प्रष्ट त हुन्छ । तर अध्यक्ष लिङ्देनले कुनै पनि नाबालकलाई पार्टीको कार्यक्रममा सहभागी गराएर अबिर–खादा नै लगाइदिँदा नकारात्कम सन्देश प्रवाह हुन सक्ने तर्फ ध्यान दिएको पाइएन ।
बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ र ६६ मा उल्लेख भएअनुसार १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक उद्देश्यले प्रयोग गर्नु बालबालिकाविरुद्धको कसुर हो ।
दफा ७ को उपदफा (७) मा बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने उल्लेख छ ।
यस्तै, दफा ६६ को उपदफा (२) को खण्ड (छ) मा भनिएको छ, ‘राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा, हडताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग गर्ने कार्यलाई बालबालिकाविरुद्धको कसुर गरेको मानिनेछ ।’
यस्तो कसुर गर्नेलाई ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद सजाय यो ऐनले तोकेको छ ।