नेपाली सेनाको संख्या घटाउने हैन, थप २ लाख सेना भर्ती गर्नुपर्छ : वामदेव गौतम

नेपाली सेनाको संख्या घटाउने हैन, थप २ लाख सेना भर्ती गर्नुपर्छ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रियसभाका सांसद वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । उनले सेनाको संख्या कुनै पनि हालतमा घटाउन नहुने बताए ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क गरे । आज (बिहीबार) राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गरे । त्यसो गरियो भने नेपाली सेनाले आगामी ५ वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने उनको तर्क छ ।

गौरवगाथाले भरिएको, देश र जनताको रक्षक नेपाली सेनाको संख्या घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको उनले खण्डन गरे । बरु प्रतिनिधिसभाका सांसदको संख्या घटाउन र प्रदेश सभा हटाउनु उपयुक्त हुने उनले बताए । हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै नसक्ने जिकीर उनको छ ।

‘नेपाली सेनालाई यसरी हामीले अपमान गर्न हुँदैन । नेपाली सेना अहिले लगभग ९६ हजारको छ । यो सेनाको इतिहास एक पटक म दोहो¥याउन चाहन्छु,’ उनले भने, ‘आजको नेपाली सेनाको स्थापना झण्डै २ सय ५५ वर्ष पहिले पृथ्वीनारायण शाहले स्थापना गरेका थिए । त्यो सेनाले नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका खेल्यो । सन् १८१४मा नेपालमाथि अग्रेज साम्राज्यवादको एकैचोटी नौं ठाउँबाट आक्रमण भयो । दुई वर्षसम्म लड्यो नेपाली सेनाले र नेपाललाई जोगायो । नेपाली सेनाले धेरैधेरै अप्ठयारोमा नेपाल राष्ट्रको रक्षा गरेको छ । नेपाली जनताको रक्षा गरेको छ । र, अन्तिम पटक नेपाली सेनाले राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुँदाखेरी त्यो संविधानलाई सलाम ठोकेर हामी समर्थन गर्छौं भनेर भन्यो । यो संसारमा राजतन्त्रले, राजाले निर्माण गरेको यत्रो लामो इतिहास भएको फौजले जनताले जे निर्णय गर्छन, त्यो हामी शिरोधार्य गर्छौ भनेर भनेको अर्को इतिहास छैन ।’

सांसद गौतमले पार्टीको केन्द्रिय कार्य समिति बैठक लाईभ गरेको भन्दै काँग्रेसप्रति आभार व्यक्त गर्दै कम्युनिष्ट पार्टीहरुले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने धारणा समेत राखे ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *