आर्थिक वर्ष २०७९/०८० मा नेपाली फिल्मको कलेक्सन ७६ करोड

आर्थिक वर्ष २०७९/०८० मा नेपाली फिल्मको कलेक्सन ७६ करोड

आर्थिक वर्ष २०७९÷८० मा नेपालीको तुलनामा विदेशी फिल्म धेरै रिलिज भएको छ। सो आर्थिक वर्षमा ५७ स्वदेशी र ७८ विदेशी फिल्म रिलिज भएको बक्स अफिस रिपोर्टले देखाएको छ। रिलिजको संख्याअनुसार कलेक्सनमा पनि नेपालीको तुलनामा विदेशी फिल्मको धेरै देखिएको छ।

चलचित्र विकास बोर्डले पहिलोपटक आर्थिक वर्षको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। बोर्डले आर्थिक वर्ष २०७९÷८० मा रिलिज भएका स्वदेशी र विदेशी फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो। बोर्डबाट प्रदान गरिएको मूभि कोडअनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी फिल्मको ग्रस बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको बोर्डले जनाएका छ। बोर्डले गत साउन २ गतेको निर्णयानुसार बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने क्रममा कलेक्सनसँगै सम्बन्धित फिल्मको प्रदर्शन मिति र टिकट बिक्री संख्यासहितको विवरण सार्वजनिक गरेको हो।

बोर्डको बक्स अफिस रिपोर्टअनुसार गत आर्थिक वर्षमा ५७ स्वदेशी फिल्म रिलिज भएका छन्। ती फिल्मको २७ लाख १६ हजार दुई सय १७ थान टिकट बिक्री भएको रिपोर्टमा जनाइएको छ। रिपोर्टअनुसार ती टिकटबाट कुल ७६ करोड ७२ लाख ५७ हजार एक रुपियाँ ग्रस कलेक्सन भएको छ। गत आर्थिक वर्षमा रिलिज भएका फिल्ममध्ये सबैभन्दा बढी कमाइ फिल्म छक्का पञ्जा ४ ले गरेको रिपोर्टले देखाएको छ। गत वर्षको फागुन १९ मा रिलिजमा आएको छक्का पञ्जा ४ ले सर्वाधिक १७ करोड ५२ लाख ९९ हजार एक सय ५८ रुपियाँ ग्रस कलेक्सन गरेको बक्स अफिस रिपोर्टले देखाएको छ। छक्का पञ्जालाई पछ्याउँदै एक सय दिन प्रदर्शनको रेकर्डको नजिक पुगेको जारीले गत असार ३१ गतेसम्ममै १७ करोड १७ लाख ९५ हजार १८ रुपियाँ कमाइ गरेको छ। त्यसैगरी, सबैभन्दा कम कलेक्सन शिवानीको देखिएको छ। शिवानीले केवल पाँच सय २० रुपियाँ कलेक्सन गरेको छ। यो फिल्मको केवल ५ वटा टिकट मात्र बिक्री भएको थियो।

त्यसैगरी, गत आर्थिक वर्षमा नेपालमा ७८ विदेशी फिल्म नेपालमा प्रदर्शन भएको बक्स अफिस रिपोर्टमा देखिएको छ। यी फिल्मको २५ लाख ८५ हजार ६ सय दुई थान टिकट बिक्री भएको र कुल ७९ करोड ४३ लाख चार हजार सात सय ४८ रुपियाँ ७० पैसा ग्रस कलेक्सन भएको बोर्डका अध्यक्ष भुवन केसीद्वारा सार्वजनिक बक्स अफिस रिपोर्टमा देखिएको छ। यीमध्ये पठानले सर्वाधिक १३ करोड २८ लाख आठ सय १० रुपियाँ कलेक्सन गरेको छ भने सबैभन्दा कम कलेक्सन भोजपुरी फिल्म रिस्तोका बटवराको छ। यो फिल्मले केवल दुई हजार एक सय ६० रुपियाँ मात्र कलेक्सन गरेको छ।

 

बक्स अफिस रिपोर्टमा रिलिजमा रहेका नेपाली फिल्म बगान र जारी तथा दुई विदेशी चलचित्रहरु मिसन इम्पोसिबल र रेसिडेन्ट एभिल डेथ आइल्यान्डको गत आर्थिक वर्षको अन्तिम दिन अर्थात् गत असार ३१ गतेसम्मको मात्र रिपोर्ट समावेश गरिएको बोर्डले जनाएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *