
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पार्टी सभापतिप्रति निकै रुष्ट छन् । थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ लिएर जिल्ला सभापतिहरुको भेलासमेत बोलाए ।
देशदौडाहामा लागे । पार्टी नेतृत्वदेखि संसदीय दलको नेतासमेत बदल्ने कुरा गरे । थापाले नेतृत्वको आलोचना गरिरहँदा अर्को समूहले देशब्यापी रुपमा पार्टी रुपान्तरण अभियान चलाए ।
कांग्रेसको गुटगत कार्यक्रम उत्कर्षमा पुगिरहेकाबेला साउन २ गतेदेखि केन्द्रीय समिति बैठक बसिरहेको छ । जारी केन्द्रीय समिति बैठकमा भने संस्थापन पक्षका नेताहरु थापाविरुद्ध आक्रमणरुपले प्रस्तुत भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा महासचिव विश्वप्रकाश शर्माले पेश गरेको विभिन्न १० बुँदे एजेण्डामाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।
महासचिवको १० एजेण्डामा पार्टी नेतृत्व वा संसदीय दलको नेता फेरबदल गर्ने प्रस्ताव भने छैन । तर केन्द्रीय समिति बैठकमा पार्टीको नेतृत्व र दलको नेता बदल्ने विषयले प्रवेश पाएको छ ।
कांग्रेस संस्थापन पक्षकै नेताहरुले यो विषय प्रवेश गराई महामन्त्री गगन थापाको चर्को आलोचना गरेका छन् । पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आजैका मितिदेखि संसदीय दल नेता फेर्ने कुरा करेक्सन गर्न थापालाई आग्रह गरेका छन् ।
कार्कीले विषय प्रवेश गराएसँगै आधा दर्जन बढी कांग्रेस संस्थापन पक्षका नेताहरुले महामन्त्री थापाको आलोचना गरेका छन् ।
संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था हुँदा यो अभ्यास सभापतिले पनि रोक्न नसक्ने तर समय चिन्न सक्नुपर्ने उनीहरुको भनाई छ ।
एउटा व्यक्ति विशेषलाई संसदीय दल नेता र सभापति चाहियो भन्दैमा समय र परिस्थितिलाई ख्याल नै नगरी बेमौसमी बाजा बजाउँदै हिँड्दा जन्ती नपाइने भन्दै थापाको ब्यङग्य गरेका छन् ।
कांग्रेस महामन्त्री थापाले पार्टी सभापतिको आलोचना गर्दै हिडेको भन्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले थापाकै विकल्प खोज्नुपर्नेसम्मको चेतावनी दिइन् ।
नेपाली कांग्रेसको विधानअनुसार प्रत्येक २, २ महिनामा केन्द्रीय समिति बैठक बोलाउनुपर्छ । तर देउवाले विभिन्न बाहना गर्दै बैठक टार्दै आएका थिए ।
संघ र प्रदेशको निर्वाचन भइसकेपछि देउवाले एक पटक पनि केन्द्रीय समिति बैठक बोलाएनन् । अधिकांश भ्रातृ संगठनहरु पनि निश्क्रियजस्तै भए ।
पार्टी नेतृत्वको कार्यशैलीका कारण नयाँ पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको भन्दै इतर पक्ष देउवालाई दबाबमा पार्ने योजना बनाइरहँदा केन्द्रीय समिति बैठकमा संस्थापन पक्ष नै आक्रामक ढंगले प्रस्तुत भएका छन् ।