पोखरा । इन्जिनियरिङ तथा आइटीको प्रवेश परीक्षा तयारी गराउने संस्था पिइएद्वारा काठमाडौंमा आयोजित राष्ट्रव्यापी इन्जिनियरिङ तथा आइटी क्विज प्रतियोगितामा पोखराको मदरल्यान्ड मावि च्याम्पियन बनेको छ । सेन्ट जेभियर्सलाई पछि पार्दै मदरल्यान्ड च्याम्पियन बनेको हो ।
काठमाडौंको एड्भान्स इन्जिनियरिङ कलेज बल्खुमा शनिबार भएको प्रतियोगितामा देशभरका करिब ३ सय ५० प्लस टुबाट छनोट चरण पार गरेका ४४ समूह अन्तिम प्रतियोगिताका लागि सहभागी भएका थिए ।
मदरल्यान्डबाट कक्षा १२ का विनायक बाँस्तोला र प्रवेश बाँस्तोला गण्डकी प्रदेश स्तरीय छनोट प्रतियोगितामा प्रथम भई अन्तिम प्रतियोगितामा सहभागी भएका थिए । विजेताले १ लाख नगदसहित २ वटा ल्यापटप, ट्रफी र मेडल गरी करिब ३ लाख बराबरको पुरस्कार जितेको कुरा मदरल्यान्डका प्लस टु इन्चार्ज नारायण आचार्यले बताए ।
सेन्ट जेभियर्स काठमाडौं द्वितीय, ब्लु बर्ड स्कुल ललितपुर तृतीय र होराइजन स्कुल बुटवल सान्त्वना स्थानमा रहेका छन् ।