
योजनाबारे आईएमएफको चासो
अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको १६ औं आवधिक योजनाबारे चासो राखेको छ । आईएमएफका मिसन चिफ टिडाइन किन्डा नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेट्दै यस्तो चासो राखेको हो । आईएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबार स्थित आयोग कार्यालयमा भेटवार्ता गरेको छ ।भेटमा आईएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औं योजना तर्जुमाको विषयमा चासो राखेको आयोगले जनाएको छ । १६ औं योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पूँजीखर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरुका विषयमा समेत छलफल भएको थियो ।
पञ्चेश्वरको डीपीआर परिमार्जन गर्न निर्देशन
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) १५ दिनभित्र परिमार्जन गरी पेस गर्न निर्देशन दिइएको छ । पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिन भारतको नयाँदिल्लीमा बसेको बैठकले संयुक्त विज्ञ टोली (टीओई) ले यसअघिका बैठकमा भएका सहमति तथा महाकाली सन्धिको मर्मअनुरूप हुने गरी पञ्चेश्वरको डीपीआरलाई परिमार्जन गरी पेस गर्न वाप्कोस लिमिटेडलाई निर्देशन दिएको हो । तीन साताभित्र विज्ञ समूहको अर्को बैठकले डीपीआर प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी र भारत सरकारका तर्फबाट केन्द्रीय जल आयोगका अध्यक्ष कुसविन्दर बोहराले संयुक्त रूपमा बैठकको अध्यक्षता गरेका थिए ।
रेमिट्यान्स खातामार्फत ८८ अर्ब निक्षेप परिचालन
वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्राप्त विप्रेषण (रेमिट्यान्स)बाट खोलिएको खातामार्फत ८८ अर्ब निक्षेप परिचालन भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्थाहरुले २०८० वैशाख मसान्तसम्ममा रेमिट्यान्स खातामार्फत ८८ अर्ब निक्षेप परिचालन गरेका हुन् । यसमध्ये मुद्दती निक्षेपको अंश ८६.४ प्रतिशत छ । नयाँ र बढी आय हुने श्रम गन्तव्य मुलुकमा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति र विप्रेषण आप्रवाहलाई गरिएको प्रोत्साहनले आर्थिक वर्ष २०७९÷८० मा विप्रेषण आप्रवाह सन्तोषजनक रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आवको जेठसम्ममै ४ लाख ५९ हजार ४१५ नयाँ तथा २ लाख ६० हजार २६२ जना पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
निजी क्षेत्रको कर्जा प्रवाह ११.५ प्रतिशतमा पुर्याउने
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा वृद्धिददर ११.५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । चालू वर्षको लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत चालु वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएकामा ११.५ प्रतिशत कर्जा वृद्धिदर हुने अनुमान गरिएको हो । गत आर्थिक वर्ष २०७९÷८० मा १२.६ प्रतिशतको कर्जा वृद्धिदरको लक्ष्य राखेकोमा जेठ सम्ममा ५.१ प्रतिशत कर्जा विस्तार भएको छ । दुई खर्ब ४१ अर्ब रकमले बढेर कर्जा लगानी ४९ खर्ब ३० अर्ब रूपैयाँ पुगेको हो। यस आधारमा आगामी आर्थिक वर्षमा ५४ खर्ब ९६ अर्बले कर्जा विस्तार हुनेछ ।
गोरु पाल्दा १० लाख पाइने
तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जादा जग्गा बाझो रहन थालेपछि गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो । गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ वितरण गरेको छ । गाउँपालिकाले हल गोरु पोषण अनुदानवापत सबै वडाका दुई सय ५० कृषकलाई जनही चार हजारका दरले प्रोत्साहन रकम वितरण गरेको हो । साथै, गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनको आधारमा अनुदान रकम पनि उपलब्ध गराएको छ । गाउँपालिकाको पशुसेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले कृषकलाई रु १४ लाख ९८ हजार पाँच सय ८२ अनुदान रकम उपलब्ध गराएको छ ।