
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वाभाविक प्रक्रिया रहेको बताए । केन्द्रिय समितिको बैठक राम्रोसँग सञ्चालन भइरहेको र बैठकको निर्णय बुधवार सार्वजनिक हुने जानकारी दिँदै उनले बैठकले आम नागरिकको जनजीविकाका बारेमा विशेष छलफल गरेको दाबी गरे ।
‘बैठक राम्रोसँग सञ्चालन भएको छ । मुलतः दुई कोणमा व्यापक कुरा भयो, आन्तरिक जीवनको बारेमा कुरा भयो, विधान कार्यान्वयन, समिति पूर्णता दिने, राजनीतिक अभियान सञ्चालन गर्ने कुरामा धेरै कुरा भयो,’ लेखकले भने, ‘साथै पार्टीको जीवन भन्दा बाहिर आम नागरिकको जनजीविका, दिनानुदिनको बारेमा छलफल भएको छ, यो बैठकले पार्टी भित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । सार्वजनिक ढंगबाट फेसबुकमा ओपन गरिएको छ, यो राम्रो हो, बैठक सकारात्मक छ, भोलि निस्कर्षमा पुग्नेछौँ । काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ । फेरबदल अहिले कति देखिए कति देखिएनन् तर फेरबदल स्वभाविक हुन् र यी हुन्छन् ।’