माओवादीमा विप्लवको आतंक, वर्षमान र जनार्दन किन आत्तिए ?

माओवादीमा विप्लवको आतंक, वर्षमान र जनार्दन किन आत्तिए ?

काठमाडौँ । नेकपा माओवादी केन्द्र १० वर्षे सशस्त्र युद्ध होस वा शान्ति प्रक्रिया नै, चर्चामै रहेको पार्टी हो । युद्धदेखि स–साना फुट व्यहोर्दै आएको माओवादी शान्ति प्रक्रियामा आएपछि भने मोहन वैद्य ’किरण’को समूह ठूलै हिस्सा लिएर फुट्यो । माओवादीमा पछिल्लो समय प्रचण्डसँगै रहेका नेताहरुको व्यवस्थापन नै चुनौति बनिरहेका बेला फेरि नेत्रविक्रम चन्द ’विल्लव’को इन्ट्रि हुने संकेतले फेरि गञ्जागोल अवस्था देखिन थालेको छ ।

माओवादीमा वर्षमान पुन र जनार्दन शर्मा छुट्टाछुट्टै गुट चलाएर बसेका पात्र हुन् । विद्यार्थी होस वा वाइसीएल वा अन्य जनवर्गिय संगठन नै किन नहुन, दुई नेताहरुबीच कसलाई नेतृत्वमा ल्याउने विवाद सतहमै देखिन्थ्यो । त्यसैमा नारायणकाजी श्रेष्ठले समेत गुट चलाएपछि माओवादीमा साना ठूला गुटहरु चुनौतिको रुपमा थिए । यसलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको बेला प्रचण्डले जनार्दन–वर्षमानलाई सन्तुलन मिलाउन पार्टी फुटकाबेला वैद्यलाई साथ दिएका देव गुरुङलाई पार्टि महासचिव बनाए ।

देव गुरुङ महासचिव बनेदेखि नै असन्तुष्ट वर्षमान–जनार्दन पार्टीमा योगदान मात्रै नभएर अप्ठ्यारो स्थितिमा सहयोग गरेका आफूलाई प्रचण्डले वाइपास गर्न खोजेको भन्दै तनावमा देखिन्थे । उनीहरुलाई फेरि नेत्रविक्रम चन्द ’विप्लव’को प्रवेश हुने डरले तनाव सिर्जना गरिदिएको छ । माओवादी केन्द्र र प्रचण्डप्रति अत्यन्तै सहज सुनिन थालेका विप्लवले पार्टी एकता हुने संकेत गर्दै प्रचण्ड नेतृत्वको सरकार बनेकोमा आफू अत्यन्तै खुशि रहेको धारणा नै सार्वजनिक गरेका छन् ।

केहिसमय प्रतिबन्ध समेत भोगेका विप्लवले नारायणकाजी फ्याक्टर पनि माओवादीमा जबरजस्त उदाउदै छ भन्ने बुझेकै कारण त्यसबेला उनी गृहमन्त्री भएको भए प्रतिबन्ध लाग्दैनथ्यो कि भन्दै यता पनि भागशान्ति पु¥याउन भ्याएका छन् ।

नजिक बसेर छलफल समेत गर्न नरुचाउने वर्षमान–जनार्दन यहि डरका कारण पछिल्लो समय संगै विताउन थालेका छन् । प्रचण्ड त्यस्ता पात्र हुन, पार्टीको अन्तरविरोध हल गर्ने नाममा नसोचेको निर्णय थपक्क गरिदिन्छन् । यहि डर दुबै नेताहरुमा परेको देखिन्छ । छुट्टै पार्टीको अभ्यास गरेपनि त्यताबाट सफलता पाउन नसकिने देखेका विप्लव माओवादी केन्द्र र प्रचण्डसहित सफल गन्तव्य हुने ठानेरै पछिल्लो समय अत्यन्तै सकारात्मक बन्दै गएका छन् ।

विप्लवको प्रचण्ड रुझानले चिढिएका वर्षमान–जनार्दन अब के गर्लान् ? यो आम चासोको विषय बन्न पुगेको छ । यी दुई नेताभन्दा विप्लव संसदीय अभ्यासमा नलागेको तथा मन्त्री, सांसद नबनेको कारण विवादीत कम हुने नेतामा पर्छन् । तर, चन्दा अशुलीदेखि प्रतिबन्धसम्म भोगेका उनले शक्ति सन्तुलन मिलाउदै फेरि राजनीतिको केन्द्रमा पुग्न प्रचण्ड रोज्ने र वर्षमान–जनार्दनलाई पाखा लगाउने सम्भावना बलियो बन्न थालेको छ । विप्लव प्रचण्डसँग नजिकिएका कारण तर्सिएका दुई नेताहरु कस्तो रणनीति तय गर्लान् ? यो भने थप रोचक विषय बन्नेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *